बर्खाभरी सबैलाई आ-आफ्नै कामको चटारो हुन्छ । खेतबारीमा खेतीपाती सकिँदा चाडपर्वले छपक्कै छोप्न सुरु गर्छ । बर्खाभरी झरी बादलसँग लड्दै भिड्दै थाकेको ज्यानलाई थोरै आराम दिने र आफन्त घर परिवार र साथीभाइसँग रमाईलो गर्ने मौका चाडपर्वले जुराउँछन् ।
चाडपर्वमा रमाईलो गर्न पिङ हालिन्छ । गाउँभरका व्यक्ति एक ठाउँमा जम्मा भएर पिङको लठ्ठा बाट्ने र चमचाको लागि काठ बोक्ने काम पनि कम्ता रोमाञ्चक हुन्न । पिङ तयार भएपछि आफ्नो मन परेको मान्छेलाई राखेर मच्चाउनुको अझ बेग्लै मजा ।
वर्षौ भेट नभएका आपसमा भेटघाट गर्ने र सुखदुःख साटासाट गर्ने मौका पनि चाडवाडले जुराउँछ ।
अब अहिले भने यी चलनहरु बिस्तारै हराउँदै जानथालेका छन् । विगतमा दशैंमा पिङ खेल्ने सांस्कृतिक चलन हो । तर पछिल्लो समय भने पिङको चलन हराउँदै गएको छ । बाबियो खरको डोरी बनाएर लिङ्गे पिङ बनाउने र काठ काटेर चर्खेपिङ बनाउने चलनअहिले छैन । यो पम्परा अहिले विस्तारै हराउँदै गएको बानपा-१ का ज्येष्ठ नागरिक दुर्गाबहादुर आचार्य बताए ।
‘हामीले दिदीबहिनी आफन्तलाई पिङ खेलाउने आफु पनि खेल्ने गर्थ्य्यौँ,’ उनले भने,‘बाबियाको लठ्ठो बनाएर लिङ्गे पिङ हालिन्थ्यो । पारी अहिले जलजला गाउँपालिकामा पर्छ नाङ्लीबाङबाट काठ ल्याएर चर्खे पिङ बनाईन्थ्यो ।’
अहिलेको युवापुस्ता अल्छी हुँदै गएका कारण पनि पिङ खेल्ने चलन हराउँदै गएको उनको बुझाई छ । ‘हाम्रो समयमा सामुहिक काम र सामाजिक कार्यमा सबैले हातेमालो गर्ने चलन थियो,’ उनी भन्छन्, ‘अहिलेका युवाले यसप्रति चासो दिदैनन् । अल्छी हुँदै गए त्यसले गर्दा पनि हाम्रो चलन हराउँदै गएको छ ।’
दशैंमा एक चोटी धर्ती छाड्नुपर्छ भन्ने मान्यता थियो र त्यसको एउटै उपाय पिङ खेल्नु थियो । दशैंमा पिङ खेल्दा स्वर्ग गईन्छ भन्ने मान्यता समेत रहेको राजेन्द्र आचार्य सम्झन्छन् । ‘दशैंको बेला एक पटक भूइँ छोड्नुपर्छ भन्ने हामीलाई बुवाहरुले सुनाउनुहुन्थ्यो त्यहीअनुसार हामी पनि पिङ खेल्न जान्थ्यौं,’ उनले भने, ‘पिङ खेलेपछि स्वर्ग गईन्छ भन्ने चलनथियो ।’ बागलुङ बजारको टोल टोलमापिङ हालिने गरेको उनको सम्झना छ ।
‘रामरेखाको अहिले वडा कार्यालय भएको ठाउँमा ठूलो पिपलको रुख थियो, त्यहाँपिङ हालिन्थ्यो, मदनआश्रित स्मृतिपार्कमा रहेको पिपलमा पनि पिङ हालेर खेलिन्थ्यो,’ उनले भने, ‘त्यो बेला त बागलुङको हरेक टोलमा पिङ हुन्थ्यो । अहिले त देख्न पाईदैन । कतै पिङ हालियो भने पनि बजारबाट किनेको डोरी प्रयोग गरिएको देखिन्छ । दशैं आएपछि गाउँभरबाट बाबियो उठाउने र जम्मा भएर पिङ बाट्ने चलन थियो । अहिले त्यो चलन हराईसकेको छ ।’
‘बर्खामा खरबारीमा गएर घाँस काट्दा पनि बाबियोलाई दशैंमा चाहिन्छ भनेर जोगाउने चलन थियो, दशैंमा गाउँभरबाट बाबियो जम्मा गरी चौरमा २०/२५ जना जम्मा भएर पाका पुस्ताले डोरी बाट्ने अलि केटाकेटीले बाबियो मिलाएर दिने चलन थियो, अहिले यो सबै हरायो,’ आचार्य भन्छन् ।
पिङ खेल्ने चलन हराउँदै जाँदा पारिवारिक र सामाजिक भाइचारा पनि कम हुँदै गएको उनकोअनुभव छ । ‘लामो समयसम्म भेट नभएका साथीहरु भेट हुने रातिसम्म पिङ खेल्ने भेटघाट हुने समय पनि त्यही बेला हुन्थ्यो,’ उनले भने,‘जोडी जोडी बसेर पिङ मच्चाउने खेल्ने त्यो बेलाको छुट्टै आनन्द थियो । पिङ मात्रै हराएन त्यो एउटा सामाजिक सद्भाव र भाइचारा पनि हरायो ।’
नेपालको अर्थतन्त्रमा आएको परिवर्तन र कृषिसँगको नाता छुट्दै जानुको परिणाम अहिले सांस्कृतिक रुपमा देखा परेको सांस्कृतिक अध्येता वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ बताउँछन् । ‘अहिले हाम्रो कृषि अर्थतन्त्रलाई पक्षघात भएको छ, मानिसहरु कृषिसँग जोडिन छाडेका छन्,’ उनले भने, ‘हिजोका दिनमा खेतीपाती गर्दा वनजंगल बाबियोसँग सम्बन्ध हुन्थ्यो र पिङको पनि महत्व थियो ।’ मानिस कृषिसँग टाढा हुँदै गएपछि त्यससँग जोडिएका संस्कारबाट पनि पर पुगेको उनको विश्लेषण छ ।
‘हिजोका दिनमा हामीले जुन कुरालाई मनोरञ्जनको रुपमा लिन्थ्यौं अब त्यसले पुग्न छाडेको छ, सांस्कृतिक मनोरञ्जको माध्यम पिङ हराउँदै जानु पनि त्यसकै कारण हो,’ उनी भन्छन्,‘अर्थतन्त्रमा आएको परिवर्तनसँग मानिसहरुको आनीबानी र सोंचाईहरुमा परिवर्तन हुने रहेछ । त्यसैको परिणाम अहिलेको अवस्था हो ।’
प्रकाशित: १० आश्विन २०८२ १६:२३ शुक्रबार





