बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ। हिजो (शनिबार) साँझ गौराघरमा भित्र्याएको गौरालाई आज व्रतालु महिलाले गौरा मन्दिरको गौराखला अर्थात् आँगनमा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताए।
व्रतालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा अर्थात् विभिन्न पाँच थरिका अन्नले गौरादेवीको पूजा गर्ने गरेका छन्। हिजो गौरादेवीमा चढाएको दुबधागो पनि आजै महिलाहरूले धारण गर्ने गर्छन्।
तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन्।
गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लैजाने गरिन्छ। सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने प्रचलन छ। गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग व्रतालु महिलाले फागमार्फत नै भन्ने गरेका छन्।
व्रतालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन्।
पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन्। महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख, शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए।
सुदूरपश्चिमेलीहरूले दशैंभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन्। त्यसैले गौरामा परदेशिएकाहरू पनि घर फर्किने गरेका छन्। गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन चलिआएको छ।
यसैबिच गौरापूर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ। नेपाल सरकारले भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते गौरापर्वको बिदा दिएपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो। रासस
प्रकाशित: १५ भाद्र २०८२ ०७:१० आइतबार





