१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
धर्म/संस्कृति

ढलियो विस्का जात्राको ल्योसिंद्य

भक्तपुरको विस्का जात्राको ल्योसिंद्य (लिंगो) मंगलबार साँझ ढालिएको छ। विधिपूर्वक पूजा–आजा सम्पन्न गरी ढाल्न थालिएको ल्योसिंद्य पाँच बजेर ५० मिनेटमा ढालिएको हो।

ढाल्नु अघि ल्योसिंद्य उठाइसकेपछि ल्योसिंद्यमै बेरिएर राखिएका डोरीहरू फुकालिएको थियो, जसलाई स्थानीय नेपाल भाषामा “वल फेनेगू” भनिन्छ। वल फेनेगू कार्य सम्पन्न भएपछि चारैतिरबाट डोरीले तानेर ल्योसिंद्य ढालिएको हो। चारैतिर डोरी राखेर आ–आफ्नोतिर ढाल्ने प्रयासस्वरूप तानातान हुन्छ। पाँच–सात मिनेटको तानातानपछि लिंगो पश्चिमतिर ढलेको थियो।

गुठी संस्थान शाखा कार्यालय भक्तपुरले सार्वजनिक गरेको विस्का जात्राको तालिका अनुसार साँझ ५ बजे ल्योसिंद्य ढाल्ने कार्यक्रम थियो। तर निर्धारित समयभन्दा झण्डै एक घण्टापछि मात्र ल्योसिंद्य ढाल्ने कार्य सम्पन्न भयो।

सार्वजनिक तालिका अनुसार मंगलबारको विस्का जात्रा बिहान ६ बजेदेखि सुरु भएको थियो। बिहान ६ बजेदेखि ११ बजेसम्म श्री भैरबनाथको पूजा–आजा सम्पन्न गरिएको थियो।

सार्वजनिक गरिएको तालिका अनुसार बिहान ९ बजेदेखि विभिन्न गुठीअन्तर्गतका मठ–मन्दिरमा पूजा सम्पन्न गर्ने, दिउँसो विशेष पूजा तथा प्रसाद वितरण गर्ने, साथै बेलुका सम्बन्धित स्थानमा उपस्थित भई जात्रा सञ्चालन गर्ने कार्यक्रमहरू उल्लेख गरिएको छ। तालिकामा प्रहरी ब्यान्ड बाजासहित सहभागिता, गुठी कार्यालय तथा स्थानीय जनसमुदायको समन्वयमा कार्यक्रम सञ्चालन हुने व्यवस्था गरिएको थियो।

ल्योसिंद्य ढालिएपछि खड्ग गुठी कार्यालय भक्तपुरलाई बुझाउने तालिका थियो। साथै ल्योसिंद्य ढालिसकेपछि डोरी खोली सुरक्षित स्थानमा राख्ने कार्य पनि गरियो। यसपछि भैरबनाथ र भद्रकालीको रथ गःहिटीमा ल्याई जुधाउने कार्य पनि सम्पन्न गरियो।

भक्तपुरको विस्का जात्रा चैत २७ गतेदेखि सुरु भएको थियो। जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। अन्तिम दिन पोटरी स्क्वायरमा उठाइएको हात नभएको अर्को ल्योसिंद्य ढालिन्छ भने त्यही दिन साँझ भैरबनाथको रथ तानिन्छ। यससँगै आठ रात नौ दिन लामो भक्तपुरको विस्का जात्रा समाप्त हुने परम्परा रहिआएको छ।

प्रकाशित: १ वैशाख २०८३ १९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App