२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

संस्कृतिको संरक्षण गर्दै समृद्धितर्फ वर्तमान पुस्ता क्रियाशील रहनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

फाइल तस्बिर

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशमा मनाइने विविध चाडपर्व, भाषा, वेशभूषा, संस्कृतिको संरक्षण गर्दै समृद्धितर्फको यात्रालाई अघि बढाउनु वर्तमान पुस्ताको दायित्व भएको बताएका छन्।

उनले फागुपूर्णिमा (होली) पर्वका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रूपमा रहेको हाम्रो मुलुकमा पर्वले सबै नेपालीलाई खुसी साटासाट गर्न तथा सामाजिक सम्बन्ध अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै नेता खनालले हर्षोल्लासपूर्वक रङ्गहरूमा रमाएर मनाइने नेपालीहरूको महान् पर्व फागुपूर्णिमाले आपसी सद्भाव, बन्धुत्व र राष्ट्रिय एकताको भावना सुदृढ बनाउने विश्वास व्यक्त गरे।

नेपालमा १२३ भाषाभाषी समुदाय र १० वटा धार्मिक आस्था तथा विश्वासका मानिसहरू बसोबास गर्ने उल्लेख गर्दै उनले यति धेरै विविधताबीच सामाजिक सहिष्णुता, पारस्परिक सम्मान र सहअस्तित्व कायम राख्नु हाम्रो साझा जिम्मेवारी भएको बताए।

पूर्वप्रधानमन्त्री खनालले बहुविविध समाजमा फागुपूर्णिमाजस्ता चाडपर्वले सबैलाई एकै सूत्रमा बाँध्दै राष्ट्रिय एकता सुदृढ गर्ने अवसर प्रदान गर्ने उल्लेख गरे।

प्रकाशित: १८ फाल्गुन २०८२ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App