२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

संस्कृति र प्रकृतिको सङ्गम: सिउरुङ

प्रकृति

यात्राले रंगीन बनाउँछ जिन्दगी

झमझम पानी पर्‍यो असारको रात

बारीबाट बज्न थाले मकैका पात।

मास्टर रत्नदास प्रकाशको स्वरबद्घ पुरानो गीतका यी शब्दले पूर्ण सार्थकता पाएका छन् मेरो जीवनमा पहिलोपटक। अहो ! ठ्याक्कै उही परिवेशको अनुभूति। काठमाडौंबाट हिँडेको पहिलो साँझ बिताउने क्रममा लमजुङको खुदीस्थित ‘होटल हिमालचुली भ्यु’मा बास बसेका छौं। होटल लहलह बढेका मकैबारीमा अवस्थित छ। असारकै महिना अनि झमझम झरी परेको रात। के गीतकारले मेरै अनुभूति उतारेका होलान् त? कहाँ भोगेका होलान् मेरै परिवेशको अनुभूति? गीतका भावभित्र भावनामा खेल्दाखेल्दै निदाएछु।

दोस्रो दिन बिहान साढे दस बजे हामीले पहिलो पाइला सिउरुङमा टेकिसकेका थियौं। बेँसीसहरपछि मस्र्याङ्दीको तीरैतीर तानिएको बाटोमा बेहोरेका दुःख, कष्ट विस्मृत भए। मन र आत्मा हलुङ्गो भयो।

लताकुञ्ज निमावि सिउरुङका प्रधानाध्यापकलगायत सबै स्वागतको तयारीमा रहेछन्। हाम्रा घाँटी छोपिएका थिए श्रद्धाका फूलमालाले। स्वागतका ताली बजे गडगडाउँदै।

मौलिक संस्कृति बोकेको सिउरुङ समुद्र सतहबाट १९५४ मिटर उचाइमा रहेछ। असाध्यै जाडो ठाउँ। कतिसम्म चिसो भने धोएको लुगा एक हप्ता नपुगी सुक्दो रहेनछ। भुसुक्कै बिर्सिएछु, सोध्न मन थियो, ‘कति छ तापक्रम?’ पहिले खाना खान हात धोयौं। शारीरिक परिश्रमबिना कुँजिएका हामीले खान नसक्ने दाल–भात–मासु प्लेटमा थुप्रिए। स्कुले नानीहरूले बालकलाई झैं स्याहारसुसार गरे। साच्चै यस्तो हृदय छुने मायाले म रुझेको थिएँ, २०६५ साल असारको पहिलो शनिबार।

मध्याह्नको बाह्र बजिसकेको छ। प्रधानाध्यापकले स्कुलकै आँगनमा स्वागत समारोह राखेका छन्। विश्व बचाउका अध्यक्ष शिव श्रेष्ठ केही सहयोग दान गर्दै थिए। फेरि हाम्रा निधार टीका र घाँटी मालाले भरिए। भविष्यको सपना भरिएको विद्यार्थी र केही हुन्छ भन्ने आशा लिएका तिनका बाआमा चौरभरि छरिएका थिए। बिहान–बेलुकीको गाँस काटेर दुःखले हुर्काएका आफ्ना लालाबालाको उज्यालो भविष्यको सपनामा ती साक्षी बस्दै थिए। सहरको जस्तो औपचारिकता थिएन।

एक बजे कार्यक्रम सुरु भइसकेको थियो। नदीजस्तो लम्बिने र चुइँगमजस्तो कहिल्यै नसकिने भाषण पनि भएन। शिव श्रेष्ठले दस हजारभन्दा बढी रकमको स्टेसनरी सामान विद्यार्थीलाई उपहार दिए। स्कुलको जीर्णोद्धारका लागि ४० हजार रुपैयाँ हस्तान्तरण गरे। हस्तान्तरणपछि भने, ‘सिउरुङ महोत्सवमा आउँदा स्कुलको दयनीय अवस्था देखेर केही सहयोग गर्ने भावना उब्जेको हो।’ थपे हर्षसाथ, ‘भविष्यमा पनि समग्र सिउरुङको विकासका लागि पहल जारी रहनेछ।’ सहर बजारकालाई भन्दा यहाँका विद्यार्थीलाई सहयोगको आवश्यकता बढी थियो।

२०१२ सालमा स्थापना भएको स्कुल गाउँको गरिबीझैं नै दयनीय थियो। आधाभन्दा बढी कक्षाकोठामा जीर्ण टिनका छाना थिए, जहाँबाट पानी चुहिन्थ्यो। पानी पर्‍यो कि पढाइ बन्द। विद्यार्थी बस्ने रन्दा नलगाइएका बेन्च ज्यादै खस्रा र कमजोर थिए। हुन त गाउँमा धनीमानी व्यक्ति पनि नभएका होइनन्। तर सहयोगको मामलामा सधैं गरिबै रहे ती। नत्र पुगिसरी भएर गाउँ छाडी बेँसीसहर, पोखरा र काठमाडौं पुगेकाहरूको मन पग्लन सक्थ्यो, यो आफ्नो सानो गाउँको पुरानो र थोत्रो स्कुल देखेर।

कार्यक्रमको समाप्तिपछि काम सिद्धिएझैं भयो। यही कामको क्रममा शिवले यहाँसम्म ल्याएका थिए हामीलाई। स्वागतमा आइसकेका थिए, कलेजी रङका आरुबखडा थालथालमा। कोदाको रक्सीका लागि बोलावट भएकाले आरुबखडाका एक, दुई गेडा टिपेर सबै भित्र लागे, अगेनाको छेउतिर। नपिउने रघु बुढाथोकी र मेरो भागमा परे सबै आरुबखडा।

आकाश छ्याङ्ङ थियो, भर्खरै नुहाएजस्तो। एक, दुई जना स्थानीयको पछि लागेर निस्क्यौं दृश्यपान गर्न। ताजा हावा, ताजा मन। बस्तीदेखि तीन सय मिटरमाथिको मानेपुर थुम्कोबाट देखिने दृश्य मनमा आएर थपक्क बस्यो। पूर्वोत्तर दिशामा देखिने हरिया डाँडाकाँडा। क्षितिजमा देखिने अन्नपूर्ण, माछापुच्छ्रे  र मनास्लुको सौन्दर्य। आहा! स्वर्ग छ भने यही हो! र त्यो यहीं झरेजस्तो। पूर्वदक्षिण दिशामा भने ठुलो बेँसी, लाम्पाट, उता र बाहुनडाँडाको मनमोहकताले मनै हर्लाजस्तो। जोन उडले चर्चामा ल्याइदिएको बाहुनडाँडा पनि निक्खर सुन्दर देखियो। बाहुनडाँडाको वारितर्फका मिप्राक र स्यागे गाउँको सुन्दरता प्रदर्शनीमा राखेको उत्कृष्ट ल्यान्डस्केपभन्दा कम छैन।

यता पूर्वदक्षिणमा रहेको तामाङ बस्ती र घोसिङ, काउले गाउँहरू चित्रका आकर्षक बुट्टाझैं थपक्क बसेका थिए, हलचलविहीन। दक्षिण–पश्चिममा रहेको हासिन डाँडाबाट भने पृथ्वी राजमार्ग, बन्दीपुर र गोरखाको सुन्दर दृश्य देखिँदो रहेछ। हृदयमै थुनेर लैजाऊँजस्तो। यही बाटोबाट घन पोखरा र घलेगाउँ पुगिँदो रहेछ।

वर्षौं गाउँबस्तीबाट टाढिएका हामीलाई घरपालुवा जनावर देख्न पनि रहर भएको थियो। दाम्लोमा बाँधिएका भैंसीहरू पनि त्यहाँ स्वतन्त्र देखिन्थे। जीवन धान्ने खाद्य तयार गर्ने ढिकीजाँतो नियाल्यौं, घरका पिँढी चहार्दै पुरानो शैलीका घुमाउने घरका पिँढी। यात्रामा छुटेका टिभी र टेलिफोनको झन्झटबाट मुक्त थियौं हामी। आफैंमा निमग्न। कुनै कुनै घरको आँगनमा भने तान थियो– पुरानो परम्परागत। त्यो उपकरणमा राडी बुनिरहेका थिए कामकाजी महिलाहरू। घरमै पालिएका भेडाको ऊनबाट, गुरुङको अर्को खाँटी पहिचान वस्त्र (बक्खु) पनि बनाउँदै गरेको देखियो। केही पुरुष भने चुपचाप पिँढी र आँगनमा बसेर परिश्रमी दक्ष हातले चोयाको डोको बुनिरहेका थिए। हेर्दा सहरिया जीवनले बिर्सेका आत्मरञ्जन दिने चिजबीजहरू अरू थिए, घरैपिच्छे। आफ्नै हत्केला नदेखिने साँझ तल ओर्लिएपछि केही छिनमै सुरु हुने नाचगान सम्झेर तल ओर्लियौं।  

साँझ ७ बजे। नाचगानका लागि मान्छे जम्मा हुन थालिसकेका छन्। यता अगेनामा आगो तापिरहेका गुरुङसेनी आमाहरू बोलाएका बोलायै छन्– ‘आऊ पा (कोदोको रक्सी) खान।’ एकछिनपछि बाहिर बसेका हामी नखानेहरूका अगाडि पनि आइपुग्छ, ‘पा’ र खसीको सुकुटी सितन। साँझ आठ नबज्दै सुरु भइहाल्यो रैनाथे नाचगान, झझल्को दिँदै रोदीघरको। रातीको बेला पनि गाउँलेहरू उठेर आएका छन् सहभागी बन्न, आँगनै ढाक्ने गरी। म तुलना गर्छु दुवै दोहोरीको। फरक छ आकाशजमिनको। कहाँ उता सहरिया तडकभडक, उच्छृङ्खलता र विकृतिका दोहोरी साँझ, कहाँ यताको शालीन, शिष्ट र मैत्रीपूर्ण सिउरुङका नाचगान।

घरीघरी ‘पा’ थप्न आइरहन्थे गुरुङ चेलीहरू हाँस्दै। स्थानीयवासीको घुलमिलमा रल्लिएका एकजना साथी भन्दै थिए– ‘यहाँको पाको स्वादै मिठो ! ‘पा’ पिइदिन आग्रह गर्ने महिलाहरूको बोलीवचन झन् मिठो!’

नाचगान र ‘पा’को रौनकमा रम्दा रातको दस बजिसकेछ, थाहै भएन। खाना खाँदा ढिलो महसुस भएन। भात खाएपछि भने उफ्री उफ्री नाच्ने जाँगर चलेन। शारीरिक थकानका कारण निद्राले पनि समात्दै जान थाल्यो। जेनतेन बाह्र बजायौं।

भालेको डाँकमै निद्रा खुल्यो। हातमुख धोएर बिदा हुनु छँदै थियो। तर सजिलै बिदाइ पाइए पो ? गन्तव्य त बन्दीपुर हो। गाउँलेहरूले चियाचमेना होइन, खाना पनि खाएपछि मात्रै हामीलाई हिँड्ने अनुमति दिने भए। मिठो आदेश!

बिहानको प्रथम प्रहरमै आकाश छ्याङ्ङ छ। सूर्योदयले उत्तरखण्डका माछापुच्छ्रे र अन्नपूर्ण हिमाल सुनमा बदलिदिएको छ। अबेरपछि पो ती चाँदीका हिमाल बने। हाम्रो छाती गर्वले चाक्लो भयो, तिनै हिमालजत्रै। तर एकैछिनमा मिठो वातावरणलाई एक लस्कर बादलले छोपिदियो।

वास्तवमा सिउरुङ प्राकृतिक र सांस्कृतिक सम्पदाबाट सुसज्जित जीवित सङ्ग्रहालय रहेछ। विशेषतः गुरुङ जातिको निक्खरा जनजीवनको नमुना यो बस्ती पर्यटकको चाप र प्रभावबाट चोखो छ। घले गाउँ तथा सिरुबारी (गाउँ पर्यटनका हिसाबले प्रसिद्ध गुरुङ गाउँहरू) जस्ता ठाउँमा आउनै भनेर निस्तो गन्तव्य बनाउनुपर्दैन। यो गाउँ अन्नपूर्ण यात्राको नयाँ चुनौतीपूर्ण र रोमाञ्चक बाटो (रुट) पनि हो। यसबाहेक पदयात्रीलाई यहींबाट दुधपोखरी र घले गाउँ जाने विकल्प पनि छ।’

बिहान दस बज्दा खाना खाइयो। सबैले प्रेमपूर्वक बिदाइको माला पहिर्‍याइदिए। हिजैदेखिको माला र फूलका गुच्छा यति धेरै भए कि सानोतिनो फूल पसल नै थापे पनि हुने। हिजो सिउरुङको उकालो उक्लिनुअघि थाकनबेँसीबाट झोला बोकेर सहयोग गरिदिनेहरू र बाटोका लागि चियाखाजा आएकाहरू, वनजंगल चहारेर फूलको जोहो गरेर धागोमा उन्ने भाइबहिनीहरूको छुट्टाछुट्टै समूह रहेछ। दिन प्रतिदिन अनुशासनहीन बन्दै गएका सहरिया विद्यार्थी भाइबहिनीले सिक्नुपर्ने पाठ यो पनि एउटा हो जस्तो लाग्यो।

बिदाबारी हुँदा सबैका अनुहार बर्खे बादलझैं मलीन थिए। हामीलाई बिचमा पारेर दुईजना शिक्षिका र तीन कोठा भरिने ससाना नानीहरू बस्तीको पुछारसम्म पुर्‍याउन आए। बिदाइको हात हल्लाउँदा लाग्यो, घरमा लालाबाला छाडेर मुगलान हिँडिरहेका छौं। डाँडाकाँडाले नछेकुन्जेल पछाडि फर्केर हेर्दा उनीहरू टाढाबाट बिदाइका हात हल्लाइरहेका थिए।

प्रकाशित: १४ भाद्र २०८२ १०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App