२१ पुस २०८२ सोमबार
image/svg+xml
धर्म/संस्कृति

‘लाखे नाच’ संरक्षणमा लागे तानसेनका युवा

लोप हुँदै गएको ‘लाखे नाच’ संस्कृति जोगाउन तानसेनका युवा कस्सिएका छन्। केही वर्ष पहिलेसम्म मनोरञ्जन र परम्परा संरक्षणको दरिलो माध्यम बनेको लाखे नाच पुरानाहरूले बिर्सेपछि यसको संरक्षण गर्न स्थानीय युवा कस्सिएका हुन्।

खास गरी नेवार समुदायमा प्रचलित लाखे नाच आधुनिकताको मारमा परी विलुप्त प्रायः हुन थालेपछि पाल्पाली नाट्य कला सांस्कृति समूहमा आबद्ध युवाहरू जोगाउन सक्रिय भएर लागेका छन्। लाखे नाच खास गरी घण्टाकर्णदेखि सुरु भई कृष्ण जन्माष्टमीसम्म नाच्ने परम्परा छ।

मुखमा डरलाग्दो मुकुण्डो लगाएर दुईमध्ये एकजना लाखे र अर्को भुच्चा भएर नाचिने यो नाचमा लाखेले पछाडिपट्टि चौरी गाईको चमर र महिलाले लगाउने घाँघर, चोलो लगाउने गरेको पाइन्छ भने भुच्चाले पुरुष भेषमा पछाडिपट्टि मकैको पात वा कपडाको पुच्छर लगाउने गर्छन्।

यहाँका युवाहरूले घण्टाकर्णकदेखि भगवती जात्रा (कृष्ण जन्माष्टमी) को दिनसम्म हरेक दिन लाखे प्रदर्शन गर्ने समूहका अध्यक्ष किरण चित्रकारले बताए। “बाबुबाजेको परम्परा बिर्सिन थाल्यौं, त्यही भएर आफ्नो संस्कृति संरक्षणमा लागेका हौं”, चित्रकारले भने, “लाखे नाच विस्तारै लोप हुँदै जान थालेको छ।”

अभियानस्वरूप युवाहरू लाखे जात्रामा ढोल र झ्याम्टा बजाएर आफ्नो जातिको संस्कृति र रीतिरिवाज प्रदर्शन गरिरहेका छन्।

“अरू समुदायमा नेवारी संस्कृति एकदमै लोकप्रिय छ तर नेवार समुदायले नै संरक्षण गर्न सकिरहेका छैनौं”, चित्रकारले भने। लाखे संरक्षणमा अन्य जातजातिले पनि उनीहरूलाई सहयोग गरेका छन्। लाखे नाचले नयाँ तथा पुराना पुस्तालाई आकर्षित गरेको छ। तानसेनको बसपार्क, हुलाकचोक, टक्सार, शीतलपाटी, नारायणस्थान, असनटोल, वसन्तपुर लगायतका स्थानमा लाखे नाच देखाइने योजना रहेको समूहका अध्यक्ष चित्रकारले  बताए।

केही दशकअघिसम्म नेवार समुदायमा मात्र प्रचलित लाखे नाच नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको स्थानीय राजेन्द्र गोपाल सिंह बताउँछन्। उनले भने, “अहिले तानसेनमा नेवारसहित अन्य समुदायको बसोबास छ,  यसको संरक्षण गर्न इच्छुकलाई सिकाउन आवश्यक छ।”

हरेक दिन साँझ ६ बजेदेखि तीन घण्टा लाखे नाच देखाइने छ। काठमाडौं उपत्यकामा प्रचलित लाखे नाच पाल्पासहित अन्य स्थानमा पनि विस्तार हुने क्रममा छ। तानसेनसहित नेवार बस्ती भएका रामपुर, सराई, हार्थोक, आर्यभन्ज्याङमा पनि लाखेनाच नाचिने परम्परा छ। 

प्रकाशित: ८ श्रावण २०८२ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App