२३ माघ २०८२ शुक्रबार
image/svg+xml
धर्म/संस्कृति

खुल्याे तलेजु मन्दिर: बिहानैदेखि दर्शनार्थीकाे घुइँचो

भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज बिहानैबाट दर्शनका लागि खुला गरिएको छ। हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुला गरिन्छ। महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज दिनभर यहाँ दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ।

सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको र जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी भन्ने धार्मिक किंवदन्ती छ।

राजाले क्षमायाचना गरेपछि तलेजुले वर्षको एकपटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन मन्दिरमा प्रकट हुने जनविश्वास छ।

एक अर्को किंवदन्ती अनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरमा कुमारीको रूपमा प्रवेश गरेको भन्ने गरिन्छ। त्यसै बेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीको रूपमा पुज्न  थालिएको हो। कुमारी पुज्ने चलन सबैभन्दा पहिले भक्तपुरबाट सुरु भएर पछि काठमाडौँ र ललितपुरमा बिस्तार भएको भक्तपुर तलेजुका मुख्य नाइके नरेन्द्रप्रसाद जोशीले बताए। विजयादशमीको दिन बिहीबार जीवित देवी कुमारीको हातबाट टीका थाप्ने प्रचलन छ।

प्रकाशित: १५ आश्विन २०८२ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App