कालीकोट जिल्लाका मतदानस्थल अनुगमन तीव्र पारिएको छ। जिल्ला निर्वाचन तथा सुरक्षा समितिको टोलीले कालीकोटका मतदानस्थल अनुगमन गरेको हो।
प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलका अनुसार १ सय २७ मतदान केन्द्र मध्ये ९५ मतदान केन्द्रको अनुगमन गरिएको हो। अनुगमनको क्रममा मतदान केन्द्रको भौतिक पूर्वाधार अवलोकन गरि तयारी गर्न पनि अगाडि बढाइएको उनको भनाइ छ।
विगतका निर्वाचनमा भएका हिंसा,भौगोलिक विकटता,यातायातको असुविधा, सञ्चार,खानेपानी,बिजुली सहितका आधारभूत विषयहरूको व्यवस्थापनका लागि समन्वय समेत गरीएको छ।
यसैगरी मतदान केन्द्र र मतदानस्थलमा देखिएको समस्या समाधानका लागि स्थानीयतहसँग आग्रह गरिरहेको जिल्ला निर्वाचन अधिकारी विश्व मंगल शर्माले जानकारी दिए। निर्वाचनलाई शान्तिपूर्ण बनाउन मतदानस्थलको अनुगमनदेखि सुरक्षाकर्मीको परिचालन तथा तयारी तीव्र पारिएको उनको भनाइ छ।
मतदानस्थल अनुगमनमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश कुलप्रसाद दाहाल,प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, प्रहरी नायब उपरीक्षक,हिमबहादुर खत्री,राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख ठाकुर प्रसाद केसी, जिल्ला निर्वाचन अधिकारी विश्वमंगल शर्मा,निर्वाचन आचारसंहिता अनुगमन अधिकृत टंकबहादुर थापा,नायब सुब्बा धनबहादुर मल्ल लगाएतले अनुगमन गरेका छन्।
७४ मतदानस्थल अति संवेदनशील
एउटा मात्र निर्वाचन क्षेत्र भएको कालीकोटमा कूल १ सय ३ मतदानस्थलका १ सय २७ मतदान केन्द्र छन्। निर्वाचनमा सुरक्षाका दृष्टिले ‘अति संवेदनशील’ जिल्लाको रूपमा चिनिँदै आएको कालीकोटका १ सय ३ मध्ये ७४ वटा मतदानस्थल अति संवेदनशील रहेको प्रजिअ गोर्कणराज सुयलले बताए।
उनका अनुसार २९ मतदानस्थल संवेदनशील छन् भने सदरमुकाम मान्मस्थित कारागार र बालमन्दिर मतदानस्थल मात्र सामान्यमा राखिएको छ।
विगतका निर्वाचनमा भएका हिंसा, भौगोलिक विकटता, यातायातको असुविधा, सञ्चारको पहुँच लगायत सूचकको आधारमा अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरेर सुरक्षा रणनीति तय गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए।
जिल्लामा ५ सय ९ जना नेपाल प्रहरी, ४ सय सेना, १ सय ८५ सशस्त्र प्रहरी, १ हजार १ सय दुई निर्वाचन प्रहरी गरी कूल २ हजार १ सय ९६ सुरक्षाकर्मी परिचालन गरिने छ।
कालीकोटमा नेपाल प्रहरीको दरबन्दी ५ सय ९ भए पनि हाल जिल्लामा ३ सय ४८ जना मात्र छन्। अन्य विभन्नि जिल्लामा काजमा बसेका छन्। जिल्लाको सुरक्षा संवेदशीलता हेरर आवश्यकता अनुसार जुम्ला र सुर्खेतबाट थप सुरक्षाकर्मी पनि बोलाउन सकिने जिल्ला सुरक्षा समितिले जनाएको छ।
अति संवेदनशील मतदान केन्द्रमा १४ जना प्रहरीसहित, सशस्त्र, सेना र निर्वाचन प्रहरी परिचालनको योजना बनाइएको छ। फागुन २१ को चुनावमा हिमपात हुनसक्ने आकलन गरेर जिल्लाभरका १४ मतदान केन्द्रलाई पनि अति संवेदनशीलमा राखिएको छ। यहाँको महादेव मावि फोइकोट, मालिका मावि बजेडीचौर, दुर्गा मावि रताडा, जनता मावि रुप्सा, दिपेन्द्र मावि, शिवालय मावि चिल्खायालगायतका मतदान केन्द्रलाई हिमपातका दृष्टिले अतिसंवेदनशील मानिएको छ। कालीकोटमा दुई स्वतन्त्रसहित १० उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन्।
प्रकाशित: २३ माघ २०८२ १०:०३ शुक्रबार





