२७ वैशाख २०८३ आइतबार
image/svg+xml
धर्म/संस्कृति

सुजन बाग श्रेष्ठले छेडाए चौथो पटक जिब्रो

भक्तपुरको मध्यपुर थिमि बोदेमा बुधबार स्थानीय सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडाएका छन्। मध्यपुर थिमि नगरपालिका-८ बोदेकै सुजनले बोदे माध्यमिक विद्यालयसँगैको बोदे लायकु चोकमा जिब्रो छेडाएका हुन्।

करिब एक फिट लामो फलामको सुइरोले सुजनको जिब्रो छेडिएको हो। जिब्रो छेड्दा बाजागाजासहित वाहवाही भएको थियो। प्रत्येक वर्ष वैशाख २ गते यही ठाउँमा जिब्रो छेड्ने जात्रा हुने प्रचलन छ।

यसअघि सुजनलाई बाजागाजाको टोलीसहित जात्रास्थल जिब्रो छेड्ने् लायकु चोकमा स-सम्मान ल्याइएको थियो। जिब्रो छेडेपछि बाँस एवं निगालोले बनेको अर्ध चन्द्राकार महाद्वीप (भ्यय) बोकेर बुद्धकृष्णलाई बोदे परिक्रमा गराइएको थियो।

टोलटोलमा घुमाइ स्थानीय पाँचो गणेशको रथलाई भागुटोल पुर्याएपछि सियो निकालिएको थियो। त्यसपछि महालक्ष्मीको माटोले जिब्रोको प्वाल टालिदिएर सियोलाई गणेश मन्दिरमा ठोकिएको थियो।

यसअघि जिब्रो छेड्ने सुजन तीन दिनदेखि केही नखाइ ब्रत बसिरहेका थिए। साथै जिब्रो छेड्ने सियोलाई एक महिना अगाडि नै तयार पारी तेलमा डुबाएर राखिएको थियो। जिब्रो छेड्ने क्रममा रगत बग्दैन।  

विस्केट जात्राका क्रममा भक्तपुरको मध्यपुर थिमिमा हुने विभिन्न जात्राहरूमध्ये जिब्रो छेड्ने जात्रा सबैभन्दा लोकप्रिय जात्रा हो। यहाँको सिन्दुर जात्रा पनि उत्तिकै लोकप्रिय छ। जात्रा अवलोकन गर्न मध्यपुर थिमिको बोदेमा हजारौंको भीड लागेको थियो। जात्रा हेर्न मध्यपुर थिमिका विभिन्न टोलका मात्रै नभई भक्तपुर अनि काठमाडौं, ललितपुर, कीर्तिपुर, काभ्रेपलान्चोकलगायतका विभिन्न ठाउँका जात्राप्रेमीहरू सयौंको संख्यामा आएका थिए। जात्राको दिन दिनभर बोदेमा जात्रालुहरूको भीड लागेको थियो।

बोदेको जिब्रो छेडाउने जात्रा लिच्छविकालदेखि चलिआएको मान्यता छ। किंबदन्ती अनुसार प्राचीनकालमा बोदेको निलबाराही दायाँबायाँ बस्ने भूत पिशाचले बोदेवासीलाई दु:ख दिन्थे। जनतालाई दुःख दिन नछाडेपछि तन्त्रमन्त्रले ती पिशाचलाई आफ्नो बसमा पारेको विश्वास छ। त्यसपछि जनताले कसैले कपाल काटिदिए त कसैले जिब्रोमा सियो घुसाइदिए।

अनेक दुःखपछि बेदना सहन नसकेर पिशाचले कष्टबाट मुक्त गरे आफूले जुनसुकै काम पनि पूरा गरिदिने बचन दिए। त्यसपछि सात वर्षसम्म जिब्रो छेड्नुपर्ने, कुनै पनि महामारी, अनिष्ट, अनिकाल, अनावृष्टि, अतिवृष्टि हुन नदिन वाचा गराइएको किंम्वदन्ती रहेको स्थानीयहरू बताउँछन्। वाचाअनुसार सात वर्षसम्म पिशाचले जिब्रो छेडे। पछि जात्रालाई निरन्तरता दिन वोदेकै कोही व्यक्तिको जिब्रो छेड्न लगाइयो र हालसम्म यो परम्पराले निरन्तरता पाइरहेको छ।

प्रकाशित: २ वैशाख २०८३ १७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App