११ असार २०८३ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

सद्भाव छर्दै मुर्हरम : मुस्लिम र हिन्दु समुदायले सामूहिक रूपमा मनाउँदै

बलादानीको पर्वका रूपमा मुस्लिम समुदायले मनाउने मुर्हरमप्रति हिन्दु समुदायको समेत आस्था बढ्दै गएको छ।

मुस्लिमहरूको पर्व भए पनि हिन्दुहरूले समेत बर्षो देखि अङ्गीकार गर्दै आए पछि जिल्लामा यो पर्वले धार्मिक सद्भाव छर्दै आएको हो।

मुस्लिम समुदायको महान् पर्व तराईका हिन्दुहरूले पनि धूमधामसँग मुर्हरम मनाउन थालेपछि यसप्रति आस्था बढ्दै गएको छ। मुस्लिमहरूको तेस्रो महान् पर्व भए पनि हिन्दुहरूको यो पर्वप्रति आस्था बढ्दै गएको हो।

हिन्दु समुदायको समेत आस्था बढ्दै गएपछि मुर्हरम सद्भावको पर्व बन्दै गएको छ। यो पर्वको अहिले तराईमा रौनक समेत बढ्दै गएको छ। तराई मुलका हिन्दु र थारु समुदायमा समेत यो पर्व मनाउन थाले पनि यसको रौनक अहिले जिल्लाको दक्षिणी भेगमा बढेको छ।

एक महिना अघि देखि यो पर्व मनाउन हिन्दु मधेसी समुदायले आफ्नो गाउँ घरमा ढोलक तासा बजाउँदै नाच गान गरेर मनाउने गरेका छन्। हिन्दुहरूले समेत मनाउन थालेपछि यो धार्मिक सद्भाव पर्वको रुपमा विकसित हुँदै गएको हो। तराईका हिन्दु मधेसी, थारुहरूले समेत यो पर्व धूमधामले मनाउन थालेपछि छुट्टै रौनकता थपिएको छ।

भाकल गरी घरमा स्थापना गरिएको तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, संवृद्धि तथा मनोच्छा पुरा हुने गरेको भक्तजनहरू बताउँछन्। साथै यो पर्व श्रद्धा पूर्वक मनाउनाले पारिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक विश्वास रहेको छ।

असार १२ गते शुक्रबार मनाइने मुर्हरमका लागि तौलिहवाको मस्जिद टोलमा तहाजिया किन्न बुधवार आएका यशोधरा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा मर्यादपुरका राम कुमार मौर्यले ७ वर्ष अघि देखि मुर्हरम मनाउन थालेको बताए। ५ वर्ष अघि नै आफ्नो मनोकामना पुरा भएको उनले बताए।

‘यो पर्व मनाउनाले पारिवारिक सुख र मनोकामना पुरा हुने भएकाले आँगालेका हौ’ उनले भने। ताहाजिया किनेका उनले पुरै परिवार मिलेर यो पर्व मनाउने तयारी गरेको बताए। मुस्लिम दाजुभाईहरुसँगै यो पर्व मनाउन पाउँदा आफूलाई निकै खुसी लागेको उनले खुसी व्यक्त गरे।

मायादेवी गाउँपालिकाको डुमराका झिन्कु यादवले आफ्नो बुवाको पाला देखि नै यो पर्व मनाउँदै आएकाले आफूले पनि त्यसको निरन्तरता दिएको बताए। उनले यो पर्व मनाउँदा फलिफाप भएकाले आफ्नो जीवनकाल भरी मनाउने उनले बताए।

कपिलवस्तु नगरपालिका– ९  निग्लिहवाका रामरति थारुले बाजेकै पालादेखि मनाउँदै आएकोले आफूले पनि त्यसलाई निरन्तरता दिएको बताए। ‘बाजेकै पाला देखि मुर्हरम मनाउँदै आएका छौ, मलाई पनि राम्रो लागेकोले अँगालेको हुँ’, उनले भने।

मुस्लिम समुदायले मात्र मनाउने यो पर्व मनाउने हिन्दुहरूको संख्या बढ्दै गएको छ। अहिले यो पर्वलाई मधेसका हिन्दु समुदायले समेत अँगालेकोले सद्भाव कायम गर्न यसले निकै मद्दत मिलेको अधिकारकर्मी रामदयाल ठाकुरले बताए।

‘देशमै मुस्लिमहरूको दोस्रो ठुलो बाहुल्यता रहेको जिल्लामा दुवै समुदायले सामुहिक रुपमा यो पर्व मनाएकोले एक आपसमा भाइचारा कायम गरेको छ ’,उनले भने। मुस्लिम समुदाय भन्दा हिन्दुहरूको मुर्हरम प्रति आस्था बढ्दै गएको उनले बताए।

आफ्ना धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झना स्वरूप यो पर्व मनाइने गरिन्छ। हुसैनको प्रतीक स्वरूप तहाजियाको पूजा गरिने प्रचलन रहेको छ। इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भए पछि यो एक देखि १० तारेख सम्म मनाइने गरिन्छ घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुर्हरमका दिन करबलामा लगेर सेलाइने चलन छ।

हिन्दुहरूले घरमा पूजा गर्दा ढोल, तासा लगायत बाजा बजाउने गर्दछन्। मुस्लिम समुदायले भने मुर्हरमका दिन साहसिक प्रदर्शन गर्ने गर्छन्। १४ सय वर्ष पहिले ईमामे हुसैनले इस्लाम धर्मलाई बचाउन आफू सहित ७२ जना पूरै परिवारले प्राणको आहुति दिएको सम्झना स्वरूप मुहर्रम मनाउँदै आएको मुस्लीम धर्म गुरुहरु बताउँछन्।

मुस्लिम समुदायले भने यो पर्वलाई मातमका रुपमा मनाउने गर्छन्। इस्लामलाई बचाउन सहादत र बलिदान, आहुति दिएकाले हुसेनको सम्झनामा यो पर्व मनाइने गरिएको मुस्लिम मौलाना बताउँछन्।

अरब देशको क्यालेन्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक वर्ष मनाइन्छ। इस्लामिक नयाँ वर्ष हिजरी संबत्को एक देखि १० दिन सम्म यो पर्व मनाइने मुस्लिम मौलाना बताउँछन्। मोहर्रमको १० औ तारेखलाई आसुरा भनिने तथा त्यसै मस्दिजमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए।

यो पर्वको प्रतिकका रुपमा कागज र बासबाट बनेको ताहाजियाको पुजा गर्ने गरिन्छ । रंगीविरगी कागजलाई हस्तकलाको माध्यम बाट मन्दिरको आकारमा सजाई बाँस काठको सहायताले तहजीया निर्माण गरिन्छ। व्यापारीहरूले ताहजिया बनाएर बिक्री गर्ने गर्छन्।  

मुर्हरम पर्वमा ४ पालिकाले दिए स्थानीय बिदा

कपिलवस्तुका४ पालिकाले मुर्हरम पर्वलाई लक्षित गरी असार १२ गते बिदा दिएका छन्। यशोधरा, शुद्धोदन गाउँपालिका तथा कृष्णनगर र कपिलवस्तु नगरपालिकाले मुर्हरम पर्वमा बिदा दिएका हुन्। गाउँपालिकाले सूचना जारी गरी शुक्रवारका लागि बिदा दिएको जनाएका छन्।

प्रकाशित: ११ असार २०८३ १८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App