साउन १ गते अर्थात साउने संक्रान्ति जुम्लाका घर-घरमा राँको बालेर मनाइने प्रचलन छ। प्रत्येक घरको छतमा राँको बालेर एकआपसमा गाली गरेर मनाइने यो चलन अहिलेसम्म कायमै छ।
लुतो फाल्ने दिनको रूपमा चिनिने साउने संक्रान्तिमा बिहानै नुवाई धुवाई शरीरमा तेल लगाएर सरसफाइ गरिन्छ। धान रोपाइँको काम सकिएको अवसरमा जुम्लाका किसानहरूले साउने संक्रान्ति मनाउने गर्दछन्। महिनाभरि हिलोमा बसेर खेतिपाती गर्नु पर्दा शरीर चिलाउने, खटिरा तथा लुतो आदी आउन सक्ने भएकाले जीउलाई सफा सुग्घर गरी लुतो फाल्ने गरिन्छ।
गाउँघरमा आजको दिन अगेनामा कुरीलो र तितेपानी सल्काएर अगेनाबाट एउटा अगुल्टो झिकेर चारै दिशा घुमाउने, लुतो लैजाउ भनि अगुल्टो फ्याक्ने गरिन्छ। आगोको राँको बाल्ने बित्तिकै ठूलो स्वरले घरका सबै परिवारहरूले कराउने छिमेकी गाउँलाई गाली गर्ने चलन पनि छ।
साँझ लुतो फालिसकेपछि जीउमा घाउ खटिरा आएको छ भने कुकुरडाइनो जलाएर त्यसको मलम बनाएर लगाउने गरिन्छ। साउन १ गतेकै दिन सूर्यको गति दक्षिणतिर हुने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ। छोरी चेलीहरू पोइली घरबाट माइती घरमा आई मिठोमिठो परिकार बनाएर खाने गरिएको सँस्कृति सम्बन्धी जानकार रमानन्द आचार्य बताउँछन्।
साउनमा मासु खानु हुन्न भन्ने परम्परागत चलनलाई तोड्दै अहिले यो संक्रान्तिका अवसरमा मासुको प्रयोग बढी भइरहेको पाइएको छ। दूध, दही खानु पर्छ भन्ने जनविश्वास छ। घरको ओटालो तथा छतमा लिपपोत गरी राँको हालिन्छ। गाउँमा रहेको रोग व्याधी सबै हटुन् भन्नका लागि नजिकैको छिमेकी गाउँलाई गाली गर्ने चलन रहिआएको मानिन्छ।
दिदी बहिनीहरू एकै थलोमा जम्मा भएर स्थानीय देउडा गीत गाउने र रमाइलो गर्ने गर्दछन्। देउडा खेल्ने ठाउँबबाटै फूलपाति ल्याएर राँको तयार गर्ने र शंख र घण्टा बजाएर लुतो फालिँदै आएको आचार्य बताउँछन्। साउन १ गते यो क्षेत्रमा स्थानीय बिदा समेत गर्ने चलन रहि आएकोमा यस वर्ष कर्णाली प्रदेश सरकारले राजपत्र अनुसार साउन १ गते बिदा दिएको थियो।
नेपाली भाषाको उद्गम स्थल सिंजासहित जिल्लाभरी राँको बालेर साउने सक्रान्ति मनाइएको छ। जुम्लामा परम्परागत रूपमा यो संस्कृतिले एक फरक सभ्यता र उदाहरण स्थापित गर्दै आएको छ। आजकै दिन हनुमानले लंका जलाएको सम्झनामा राँको बाल्ने चलन रहेको एक तर्फका विद्धानहरूको भनाइ छ भने अर्को तर्फ राँको फाल्ने चलनलाई खस संस्कृतिको उपज भएको र खसान क्षेत्रका मानिसहरूले कालो साउनमा केही पनि नहोस् भन्नका लागि गरिँदै आएको संस्कार भएको भन्ने तर्क पनि गरेको पाइन्छ।
साउन महिनाभरि पार्वतीले व्रत बसी महादेव पति पाएकाले हिन्दु महिलाहरूका लागि यो महिना पवित्र मानिन्छ। यसैले यस महिनाभरि खास गरी विवाहिता महिलाहरूले आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र सुख सम्वृद्धिको कामना गर्दै महादेवको व्रत, उपासना, आराधाना गर्ने गर्दछन्। यस पर्वमा उनीहरू हरियो पोते, हरियो नै चुरा र रातो लुगामा सजिएका हुन्छन्।
प्रकाशित: १ श्रावण २०८२ २०:४५ बिहीबार





