२८ वैशाख २०८३ सोमबार
image/svg+xml
धर्म/संस्कृति

साकेला उभौली भव्य रूपमा सुरु

किराती राई समुदायको प्रमुख सांस्कृतिक चाड साकेला उभौली (धिरीनाम) शुक्रबारदेखि सुरु भएको छ। पहिलो दिन भूमि पूजा (शिकारी) गरेर सुरु हुने यो चाड उदयपुरसहित किराती समुदाय बाहुल्य क्षेत्रहरूमा धुमधामका साथ मनाउन थालिएको हो।

२०८३ सालको उभौली अर्थात् किरात संवत् (यल दुङ) ५०८६ को मुख्य चाडका रूपमा तीन महिनासम्म मनाइने यस पर्वमा भूमि पूजा, पितृ तर्पण, आगामी वर्षभरि सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै एकअर्काबीच सद्भाव आदानप्रदान गर्ने तथा सामूहिक रूपमा गोलो घेरा बनाएर नाचगान गर्ने परम्परा रहेको छ। पूर्वी नेपालका पहाड र तराईका अधिकांश जिल्लासहित बागमती प्रदेशका उपत्यकाका विभिन्न जिल्लामा पनि यो पर्व मनाइन्छ।

राई, लिम्बु, याक्खा, सुनुवार, आठपहरिया लगायत किराती मूलका समुदायहरूले मनाउने साकेला उभौलीलाई समुदायअनुसार साकेवा, साकेन्वा, तोसतोसी, चासोक तङ्नाम र याक्वा तङ्नाम नामले पनि चिनिन्छ। नाम फरक भए पनि मनाउने शैली, पितृ तर्पण, भूमि पूजा तथा सामूहिक सद्भाव आदानप्रदानको परम्परा समान रहेको छ। हरेक वर्ष उभौली तथा उधौली पर्व मनाउन किरात राई यायोक्खालगायत समुदायगत छाता संगठनहरूले अगुवाइ गर्दै आएका छन्।

सोहीअनुसार उदयपुरमा यायोक्खाको आयोजनामा जिल्लाव्यापी तथा स्थानीय तहमा विभिन्न रचनात्मक र सांस्कृतिक गतिविधिसहित पर्व मनाइँदैछ। सदरमुकाम त्रियुगा नगरपालिका–११ गाईघाटस्थित साकेला थानमा बिहान भूमि पूजा गरिएको थियो भने दिउँसो त्रियुगा नगरपालिका–३ को मोतिगडामा सामूहिक कार्यक्रम सम्पन्न भएको छ।

साकेला थानमा आयोजित भूमि पूजा कार्यक्रममा नगरपालिकाका विभिन्न वडाबाट आएका भक्तजनहरूले तीन दर्जनभन्दा बढी कुखुराका भालेको बली दिई शिकारी पूजा आराधना गरेको पुजारी राजु राईले बताए।

उनका अनुसार नछुङ (किराती विजुवा) ले सिद्धिविधि पूरा गरेपछि मात्र उभौलीको विधिवत सुरुवात गरिन्छ। निश्चित प्रक्रिया सम्पन्न भएपछि भूमि पूजा, त्यसपछि सामूहिक चुला पूजा, प्रसाद ग्रहण र गोलो घेरा बनाएर ढोल–झ्याम्टा बजाउँदै नाचगानमार्फत सद्भाव आदानप्रदान गर्ने चलन रहेको छ।

जिल्लामा क्रियाशील विभिन्न किराती संघसंस्थाको सहकार्यमा हरेक वर्ष उभौली र उधौली कार्यक्रम आयोजना हुने गरेको यायोक्खा त्रियुगा प्रारम्भिक नगर कमिटीका अध्यक्ष सर्वधन राईले बताए।

उनका अनुसार प्रारम्भिक नगर कमिटीअन्तर्गत एक महिनासम्म सञ्चालन हुने कार्यक्रमको तालिका सार्वजनिक भइसकेको छ। वैशाख १८ गते गाईघाट र मोतिगडाबाट सुरु भएको सामूहिक उभौली कार्यक्रम जेठ १६ गतेसम्म सञ्चालन हुनेछ।

तालिकाअनुसार वैशाख १९ गते त्रियुगा नगरपालिका–५ बालुवाटार, २० गते वडा नं. ६ जलजले, २२ गते वडा नं. ३ चाँप, २४ गते वडा नं. १ जोगीदहमा कार्यक्रम तय गरिएको छ।

त्यसैगरी २६ गते वडा नं. १५ डहर, २७ गते वडा नं. १० बाबरी, २९ गते वडा नं. १० बोक्सेमा सामूहिक साकेला उभौली कार्यक्रम हुनेछ। जेठ २ गते वडा नं. ७ चुहाडे, ३ गते वडा नं. ५ श्रीपुर, ९ गते गाईघाट र जेठ १६ गते साकेलाथान गाईघाटमा बृहत् साकेला सिली कार्यक्रम आयोजना गरिने अध्यक्ष राईले जानकारी दिए।

शुक्रबारै चौदण्डीगढी नगरपालिकाको बसाहा र बेलटार, बेलका नगरपालिकाका रातापानी, गुरुचौरी, सेतीखोला र मैनामैनीमा पनि भव्य उभौली कार्यक्रम आयोजना गरिएको छ।

त्यस्तै कटारी नगरपालिकाको कटारी बजार, वडा नं. ६ चुहाड, वडा नं. ५ बलाहा, वडा नं. ३ च्याँगामा उभौली आयोजना गरिएको छ भने उदयपुरगढी, रौतामाई, ताप्ली र लिम्चुङबुङ गाउँपालिकाका विभिन्न वडामा पनि कार्यक्रम सम्पन्न भएको छ।

यायोक्खाका अनुसार जिल्लाका आठवटै स्थानीय तहमा एकैदिन सुरु भएको उभौलीलाई आकर्षक, रचनात्मक र अर्थपूर्ण बनाउन भलिबल, वक्तृत्वकला तथा अन्तरक्रियाजस्ता कार्यक्रमसमेत सँगसँगै सञ्चालन गरिनेछ।

प्रकाशित: १८ वैशाख २०८३ २०:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App