कार्तिक शुक्ल पूर्णिमामा (नहान) दिन बुधवार बाणगंगा नदी अन्तर्गत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनको भीड लागेको छ। बाणंगगा नदीको रामाघाटमा १० हजार बढी श्रद्धालु भक्तजनले स्नान गरेका छन्। रामघाट मेला जिल्लाकै सबैभन्दा पुरानो मेला हो।
रामघाट मेला व्यवस्थापन समिति अनुसार यस वर्ष गत वर्षको तुलनामा श्रद्धालु भक्तजनको संख्यामा समेत बढेको छ। कार्तिक शुक्ल पूर्णिमा दिन जिल्लाको बाणगंगा नदीका विभिन्न स्थानमा परम्परागत मेला लागेको छ। बाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हदौनामा सन्तघाट, सिताघाटमा बुधवार लागेको मेला भर्न ठुलो संख्यामा श्रद्धालु आएका थिए।
प्राचीन भागीरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचीन र धार्मिक महत्त्व बोकेका श्रद्धालु भक्तजन बताउँछन्। मेलामा टाढा टाढाबाट भक्तजन आएका छन्। रामघाटमा भारतको शोहरतगढ, तुलसीपुर, शोहरतगढ, अलीगढवा तथा छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाँची लगायतका स्थानका मानिस समेत आएका छन्।
मेलाका लागि मंगलवार राति देखि नै भक्तजन रामघाटमा जम्मा भएका थिए। भक्तजनले रात भरी जाग्राम बसी भजन कीर्तन गर्दै बिहान सबेरै नदीमा स्नान गरी राम जानकी मन्दिरमा गएर पूजाआजा गरेका थिए। यस दिन नदीमा स्नान गरी पूजा गर्नाले पाप नास भई पुण्य फल प्राप्त हुने धार्मिक विश्वास रही आएको छ।
सो अवसरमा सयौँ भक्तजनले पूजापाठ गरी गौ पूजा गरी दान समेत गरेका थिए। त्रेता युगमा भगवान् राम वनवास जानेक्रममा प्यास लागे पछि अर्जुनले बाण हानेर पानी निकालेका थिए। रामले पानी खाए पछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाका बताउँछन्।। गौदान पूजा गराउन यशोधरा गाउँपालिकाको भडेहरबाट आएका बयबद्ध पुजारी राम गिरीले भगवान् रामको बाणद्वारा उत्पत्ति भएको बाणगंगा नदीमा स्नान गरी गौदान गर्नाले ठुलो पुण्य फल मिल्ने बताए।
‘भगवान् राम, सीता र लक्ष्मण नुहाएको नदीमा स्नान गरी गौसहित अन्नपात दान गर्नाले वैतरणी पार हुन्छ।’ उनले भने। बाबु बाजे पालादेखि लाग्ने यो मेला जिल्ला कै सबैभन्दा पुरानो रहेको उनको दाबी छ। कपिलवस्तु नगरपालिका– १ एक्का स्टेसनका देवी प्रसाद बर्माले यस वर्ष पनि गौ, अन्नपातसहित पैसा दान गरेका थिए। ‘ हामीले हरेक वर्ष रामघाटमा कार्तिक पूर्णिमामा दान गर्ने गर्छौ, ’ उनले भने ‘ बाजे बज्यैको पाला देखिको परम्परालाई कायम राखेका छौ, जसले गर्दा हामीलाई पारिवारिक शान्ति र सुख मिलेको छ।’
मेलामा जिल्ला सहित भारत, छिमेकी जिल्लाहरू लगायतका स्थानहरूबाट ठुलो संख्यामा सन्त, महन्त, साधु आएको वडा अध्यक्ष प्रकाश गैरेले बताए। भक्तजनले रातभर भजन कीर्तन, पूजापाठ, प्रवचन र भागवतको पाठ गरेका थिए। कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेलले रामघाट मेलालाई व्यवस्थित र थप रमणीय बनाउन आफू लागि परेको बताए।
पुर्वसांसद सुरेन्द्रराज आचार्यको पहलमा रामघाटमा धामको रूपमा विकसित गर्न विभिन्न निर्माण कार्य अघि बढेको र यस वर्ष पनि बजेट विनियोजन भएको उनले बताए। यही अवसरमा कपिलवस्तुको १० मध्ये ८ पालिकाले स्थानीय बिदा समेत दिएको छ। मेलामा हुन सक्ने विभिन्न घटनाहरूलाई रोक्न ठुलो संख्यामा सुरक्षाकर्मी प्रहरी परिचालन गरिएको थियो।
प्रकाशित: १९ कार्तिक २०८२ १२:३३ बुधबार





