१० भाद्र २०८३ बुधबार
image/svg+xml
धर्म/संस्कृति

बडिमालिकामा पूजाको तयारी पूरा, भक्तजनको घुइँचो

सुदूरपश्चिम प्रदेशको बाजुरामा स्थित ऐतिहासिक, धार्मिक र सास्कृतिक महत्व बोकेको पर्यटकीय स्थल बडीमालिकामा हजारौ भक्तजनको चहलपहलले गुल्जार बनेको छ। साउन शुक्ल चतुदर्शीका दिन भदौ ११ गते बिहीबार बिशेष पूजाआजासहित मेला लाग्ने भएकाले भक्तजनको उल्लेख्य उपस्थिति छ ।

प्रत्येक वर्ष साउन शुक्ल चतुदर्शीका दिन बडिमालिकामा बिशेष पुनाआजा गरिने र मेला लाग्ने गर्छ । यस पटक भदौ १ गतेदेखि नै बडिमालिकामा मेला सुरु भएको छ। देशभित्र मात्र नभई भारतबाट समेत भक्तजन आउने बडिमालिका मेलाको सुदूरपश्चिम र कर्णाली प्रदेशमा विशेष महत्व रहेको छ ।  

परापुर्वकाल देखि नै याहाँ पूजाआजा गर्ने चलन रहिआएको छ । बाईसे चौबिसे राज्य हुदाँ जुम्लाको सिंजा राज्य र डोटी राज्य बाट सरकारी टोली पूजाआजाको सामग्री सहित पूजाआजा गर्न बडीमालिका पुग्ने चलन थियो । भने त्यसपछि पनि सरकारका तर्फबाट दुवै प्रदेशका जुम्ला, कालिकोट, डोटी, बाजुरा लगायतका जिल्ला प्रशासनको टोली पूजा सामग्री सहित बढीमालिका पुगेर पूजाअर्चना गर्ने चलन कायमै छ ।

जिल्ला प्रशासनबाट सुनको सामग्री, टीका लगायतका पूजा सामग्री सहितको टोली चलन अनुसार बडिमालिका पुगिसकेको छ ।

‘सुनको जलफ लगाएको सिक्री, टिका लगायतको पूजाको सामग्रीसहितको गाँथ लगेर जिल्ला प्रशासनको कर्मचारी र एक पुरेत लगायतको ६ जनाको टोली भदौ १ गते नै बडीमालिकाको मेलाको पूजाका लागी याहाँबाट गएको छ’ जिल्ला प्रहरी प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी मीन बहादुर रावलले भने । बडिमालिकाको पूजाको सामग्रीसहित बडिमालिका पूजाका लागी १ लाखको बजेट नै बिनियोजन गरिने उनले बताए। यसैगरि कर्णाली प्रदेशको कालीकोटबाट पनि जिल्ला प्रशासनको टोली पूजासामग्रीसहित बडिमालिका पुगेको छ ।

यसैगरि डोटी र बाजुरा जिल्लाबाट पनि पूजाआजाको सामग्रीसहित सरकारी टोली बढीमालिका पुगेको छ ।

तीन तहकै सरकारको टोली बडिमालिकामा

संघीय सरकार मातहतरहेको जिल्ला प्रशासनको टोली मात्र पूजाआजाको सामग्रीसहित बडिमालिका जाने गरेको थियो । पछिल्ला वर्षमा तीन तहकै सरकारको टोली पूजाआजा गर्न बडिमालिका जाने चलन सुरु भएको छ । गतबर्ष देखि सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका रहेको धनगढी उपमहानगरपालिकाको टोली पनि पूजाआजाको सामग्री सहित बडिमालिका मेलामा जान सुरु गरेको छ । गतबर्ष उपनगर प्रमुख कन्दकला रानाको नेतृत्वमो पूजासामग्री सहित धनगढी उपमहानगरपालिकाको टोली बडीमालिका मेला गएको थियो । यस पटक धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको नेतृत्वमा पूजा सामग्री सहितको धनगढी उपमहानगरपाकिलाको टोली बढीमालिका प्रस्थान गरेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि नगरप्रमुख हमाल बढीमालिका नपुग्दै फर्केका छन् । धनगढी उपमहानगरपालिकाको टोली पूजाआजाको सामग्री सहित बढीमालिका पुगेको छ ।

यसैगरि सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट पनि गतबर्ष देखि पूजाआजाको सामग्री सहित टोली बढीमालिकामा गएको छ । प्रदेश शभा सदस्य पदमबहादुर शाहीको नेतृत्वमा प्रदेश सरकारको टोली पूजाआजाको सामग्री सहित बढिमालिका गएको छ ।

बडिमालिकामा भक्तजनको घुइँचो  

बडीमालिका मन्दिरमा भदौ १ गतेदेखि पूजा तथा मेला सुरु भएको छ । मुख्य पूजा भदौ ११ गते हुने भए पनि एकैदिन अत्यधिक दर्शनार्थीको भीड हुने भएकाले यस पटक १० दिनअघिदेखि नै पूजा सुरु गरिएको हो । मेलामा बिभिन्न देशका बिभिन्न जिल्ला तथा भारतको उत्तराखण्डको कुमाउ, गढवाल, पिथौरागढ लगायतको ठाउँबाट समेत तिर्थयात्री र भक्तजना उल्लेख्य संख्यामा आएका छन् । गतबर्ष मेलामा ४५ हजारभन्दा बढी भक्तजन तथा तिर्थालु आएको पूजारीले बताएका छन् ।  

रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले निर्वाचन अघि धनगढीमा चुनावी शभामा बडीमालिकालाई ‘स्विट्जरल्यान्डको बाउ’ भनेर उल्लेख गरेपछि यसको चर्चा थप चुलिएको छ । यस पटक बडिमालिका मेलामा भक्तजन, पर्यटक र तीर्थालुको संख्या उल्लेख्य रुपमा बढेको छ ।

हरेक वर्ष साउन शुक्ल चतुर्दशी अर्थात जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा हुने गरे पनि अन्य समयमा पनि पर्यटक बडीमालिका पुग्ने गरेका छन् । बडीमालिकाको दर्शन गर्नाले मनोकामना पूरा हुने, रोग निको हुने, पुत्र प्राप्ति हुने लगायतका धार्मिक विश्वास रहिआएको छ ।

समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा बाजुरा जिल्लामा अवस्थित बडिमालिकामा मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, फाँटमा फुलेका रङ्गीचङ्गी फूल, खेतीबेती, विष्णुपानी, धर्मद्वार बडीमालिका क्षेत्रका प्रसिद्ध तथा आकर्षक स्थल हुन् । खेतिबेती क्षेत्रमा परापूर्वकालमा भगवती र मैसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा रहेको किंवदन्ती छ ।  

परापूर्वकालदेखि बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार सरकारी टोली सहित स्थानिय भक्तजन बडिमालिका मन्दिर पुगेका छन् ।

नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा टावर निर्माण तथा जडान कार्य सम्पन्न गरेर गत सोमबार देखि टु जी र फोर–जी सेवा सञ्चालनमा ल्याएको छ ।

प्रकाशित: १० भाद्र २०८३ २२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App