महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा साधुसन्त तथा भक्तजनहरूको चहलपहल निकै बढेको छ।
देशका विभिन्न भाग तथा छिमेकी मुलुक भारतबाट समेत ठुलो संख्यामा साधुसन्त र दर्शनार्थीहरू आउने क्रम जारी रहेकाले पशुपति क्षेत्रमा उत्सवमय वातावरण छाएको छ।
पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष करिब ४ हजार देखि ४ हजार ५०० सम्म साधुसन्तहरू पशुपति आउने अनुमान गरिएको छ।
गत वर्षको तुलनामा यस वर्ष साधुसन्तको संख्यामा वृद्धि हुने देखिएको कोषले जनाएको छ। आउने साधुसन्तहरूका लागि आवास, भोजन र धुनीको उचित व्यवस्थापन कोषले मिलाइसकेको छ।
महाशिवरात्रिलाई लक्षित गरी पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रलाई विशेष रूपमा सिँगारिएको छ। मन्दिरको मुख्य प्रवेशद्वार, प्राङ्गण र मन्दिर परिसरलाई रङ्गीबिरङ्गी फूल र बत्तीहरूले सजाएर आकर्षक बनाइएको छ।
कोषका अनुसार दर्शनार्थीहरूको सहजताका लागि सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन र स्वास्थ्य शिविरहरूको समेत प्रबन्ध मिलाइएको छ। शिवरात्रिको दिन पशुपतिनाथको दर्शन गर्न लाखौंको संख्यामा भक्तजनहरू आउने अपेक्षा गरिएको छ।
हेराैं तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक



















प्रकाशित: २ फाल्गुन २०८२ १९:४५ शनिबार





