मिथिलाको लोक संस्कृतिमा अरिपनको महत्व गहिरो छ । अरिपन विशेष गरी शुभ अवसरहरूमा बनाइन्छ । यो चामलको पीठो पानीमा मिसाएर बनाइन्छ, र यसलाई रंगाउन बेसार र सिन्दूर प्रयोग गरिन्छ ।
अरिपन मिथिला कलाको एक रूप हो जुन मुख्यतया मिथिला क्षेत्र (बिहार मधेसलगायत)मा प्रचलित छ । आँगन, भुइँ र भित्ताहरूमा अरिपन चित्रकला गर्ने वा सिर्जना गर्ने परम्परा मिथिलामा लामो समयदेखि चलिआएको परम्परा हो । विभिन्न उत्सव र चाडपर्वहरूको लागि विभिन्न प्रकारका अरिपनहरू बनाइन्छ । वेद र पुराणहरूमा अरिपनको उल्लेख छ ।
महिलाहरू अरिपन बनाउने कलाबाट पछिल्लो समय टाढिदै गएपनि गाउँ र सहरका केहि ठाउँमा अझै जिवन्त छ । अरिपन अझै पनि विभिन्न अवसरहरूको लागि बनाइन्छ । नयाँ प्रविधि, रंग र आकारसहित ।
स्वस्तिक अरिपणको परम्परा वैदिक कालदेखि नै रहेको मानिन्छ । अरिपण वेदहरूमा सर्वतोभद्रको नामबाट आएको हो । प्राचीन समयमा, ४१ वटा स्वस्तिकहरूलाई एकसाथ जोडेर अरिपण बनाइन्थ्यो ।
यसमा भगवान विष्णुका चार हातहरू चित्रण गरिएका थिए । गरुड पुराणमा तुलसीको नजिकै अरिपन बनाउने गरिएको उल्लेख छ । पुराणका अनुसार, तुलसीको बोटबाट निस्कने स्वास्थ्यवर्धक वायुका कारण यो तुलसीमुनि बनाउने गरिन्छ ।
किंवदन्ती अनुसार, यो तुलसीको बोटमुनि बनाइन्छ किनभने यसले स्वस्थवद्र्धक वायु निकाल्छ । आज पनि, अरिपन तुलसीको नजिकै बनाइन्छ ।
अरिपानका प्रकारहरू
अरिपानका धेरै प्रकारहरू छन्, प्रत्येकलाई फरक–फरक अवसरहरूको लागि फरक–फरक तरिकाले तयार पारिन्छ । छठियार पूजा (नवजात शिशुको छैटौं दिनमा गरिने पूजा), मुण्डन, कर्ण छेदन(कान छेड्ने), यज्ञोपवीत संस्कार (जनेउ संस्कार), विवाह र द्वादशा (मृत्युउपरान्त)का लागि विभिन्न अरिपान बनाइन्छ ।

तलुसी अरिपनः यो अरिपान मकर संक्रान्ति र फाल्गुन संक्रान्तिमा मनाइने तुषारी पूजाको शुभ अवसरमा बनाइन्छ । अविवाहित मैथिली केटीहरूले असल पतिको लागि प्रार्थना गर्न तुसारी पूजा गर्छिन् । र यस अवसरमा तुसारीको अरिपन बनाउँछिन् । एउटा मन्दिरमा चन्द्रमा, सूर्य र नवग्रह बनाइन्छ साथै दिशाहरूलाई पनि दर्शाउने गरिन्छ ।
साँझ अरिपन – यो अरिपन सन्ध्या देवी (साँझकी देवी) को सम्मानमा बनाउने गरिन्छ ।
षष्ठी अरिपण – जब अविवाहित केटीहरू यौवनावस्थामा पुग्छन्, षष्ठी पूजा गरिन्छ । जस अवसरमा यो अरिपण तयार पारिन्छ र षष्ठी देवीलाई पूजा गरिन्छ ।
कोजागरा अरिपन – परम्परागत रूपमा आश्विन महिनाको पूर्णिमाको दिन माखानाको पातमा यो अरिपन बनाइन्छ । यो अरिपन नवविवाहित केटाको घरमा यो अरिपन तयार गरिन्छ । त्यसपछि चुमावन समारोह(विवाह समारोहसँग जोडिएको विधि) हुन्छ ।
दिवाली अरिपण – दिवालीमा सामान्यतया जताततै रंगोली बनाइन्छ । यद्यपि, मिथिला क्षेत्रमा यसलाई सुख–रत्न अरिपण भनेर चिनिन्छ । यो घरमा देवी लक्ष्मीलाई स्वागत गर्न बनाइन्छ ।
स्वस्तिक अरिपण – यो सबैभन्दा पुरानो अरिपण हो । यो युवा पुस्तालाई आशीर्वाद दिन तयार पारिन्छ र हरेक शुभ अवसरमा बनाइन्छ ।
पञ्चदल अरिपण – यो शक्ति पूजाको समयमा बनाइन्छ । यसले पाँच–पत्रे कमललाई चित्रण गर्दछ ।
सप्तदल अरिपण – सात–पत्रे कमल मिलेर बनेको यो अरिपण सप्तर्षिहरूलाई समर्पित गरिन्छ ।
अष्टदल अर्पण – देव पूजा, भगवान विष्णुको सत्यनारायण पूजा र देवउत्थान एकादशीको समयमा अष्टदल अर्पन बनाइन्छ । यस अरिपनको आठ पंखुडीहरूले आठ हातधारी विष्णुको प्रतीक हो ।
यसबाहेक, अरिपनमा मानिस, चराचुरुङ्गी, जनावर, रूख, पात, फूल, तान्त्रिक प्रतीक, यन्त्र, नवग्रह, सूर्य–चन्द्र, देवता–देवीहरू, बत्ती, नदी–पर्वत आदि जस्ता चित्रहरू बनाइन्छ ।
अरिपन परिचय
मिथिला संस्कृतिमा अरिपनको विशिष्ट स्थान छ । अरिपन तन्त्रले उत्पन्न, व्रत–अनुष्ठान, सामाजिक संस्कार, पारिवारिक समारोह, शुभ अवसरसँग जोडिएको छ । यो मिथिलाको प्राचीन सांस्कृतिक परम्परा र मौलिक लोककला हो । अरिपनको प्राचीनताको सन्दर्भमा लगभग पाँच हजार वर्ष पूर्वको सिन्धु घाँटी–सभ्यताको पुरावषेश, मुद्रामा पूर्ण विकसित प्रतीकको रुपमा पाइन्छ । मिथिला कलाको ‘अरिपन’ पुरातन नारीको ब्रह्माण्डोत्पतिसँग सम्बन्धित अवबोधको जीवित दस्तावेज हो । जसमा ज्यामितीय माध्यमले त्यो ज्ञानको अभिव्यक्तिको एउटा अवाचिक पद्धति हो । एक साधारण विन्दुले अपरिमित दैवी समाजसम्मको यात्राको लौकिक पथ हो । विन्दुले ब्रह्माण्डसम्म वृत, अर्धवृत, कुण्डली, कचनी, त्रिभुज, चतुर्भुज, षट्कोण, अष्टकोण र नक्षत्र, वृक्ष–लतादी, जलाशय, जीवजन्तु, विभिन्न दलको संख्या भएको कमल–दलले निर्मित एउटा छुट्टै संसारको रचना गरिन्छ ।
उत्पत्ति
उत्पत्तिको सम्बन्धमा साधारणतः यो मानिन्छ कि ‘अरिपन’ शब्दको विकास संस्कृतको ‘अल्पना’ आलेपन, अलोपन, अथवा अलिम्पनबाट भएको हो । जसको अर्थ हो, लिपनु अथवा लेपन गर्नु । प्राचीन साहित्यमा उल्लेख भएको सर्वतोभद्र, स्वस्तिक, षोडसदल, अष्टदल, आदि यसको प्रभेद हो । अरिपन कला भूमिलाई शुद्ध पार्न परापूर्वकालदेखि चल्दै आएको छ । यो कला आज पनि जीवित छ । मिथिलामा मनाइने चाडपर्व पूजा–आजा, यज्ञ, सामाजिक समारोह, जन्मदेखि मृत्युसम्मका जीवन संस्कार सुरु गर्नुभन्दा पहिले अरिपन तयार पारिन्छ ।
प्रकाशित: २७ मंसिर २०८२ १८:३३ शनिबार





