१८ श्रावण २०८३ सोमबार
image/svg+xml
धर्म/संस्कृति

साउनको सन्देश : समृद्ध नेपालका सशक्त महिला

एआई निर्मित तस्बिर

साउन लागेसँगै नेपालका बजार हरिया चुरा, पोते, मेहेन्दी र शिवभक्तहरूको भिडले भरिन थाल्छन्। पशुपतिनाथदेखि देशभरका शिवालयसम्म सोमबारको व्रत बस्ने भक्तजनको लर्को लाग्छ। विवाहित महिलाले श्रीमानको दीर्घायु, परिवारको सुखसमृद्धि र गृहस्थ जीवनको मंगल कामनाका लागि व्रत बस्छन् भने अविवाहित युवतीले योग्य जीवनसाथीको कामना गर्दै भगवान् शिवको आराधना गर्छन्।

साउनको अर्थ यतिमै सीमित छैन। यो महिना त्याग, अनुशासन, आत्मसंयम, सहअस्तित्व र शक्तिको प्रतीक हो। नेपाली समाजमा साउनले महिलाको जीवनसँग विशेष सम्बन्ध बनाएको छ। हरियो चुरा केवल सौन्दर्यको प्रतीक होइन, हरियाली, उर्वरता, आशा र जीवनको निरन्तरताको प्रतीक हो। मेहेन्दी केवल शृंगार होइन, संस्कार र उत्सवको भाषा हो। सोमबारको व्रत केवल धार्मिक अभ्यास होइन, इच्छामाथिको नियन्त्रण, अनुशासन र समर्पणको अभ्यास पनि हो।

आजको सन्दर्भमा महिलाको यो त्याग सन्दर्भमा गम्भीर प्रश्न उठ्छ– हामीले महिलाको यो त्यागलाई केवल धार्मिक कृत्यका रूपमा बुझ्ने कि राष्ट्र निर्माणको ऊर्जाका रूपमा पनि हेर्ने? हरेक बिहान हामी दुर्गामा शक्ति, लक्ष्मीमा समृद्धि र सरस्वतीमा ज्ञान देख्छौं। देवीको पूजा गर्छौं तर मन्दिरबाहिर निस्किएपछि त्यही शक्ति बोकेकी महिलालाई समान अवसर दिन अझै कन्जुस्याइँ गर्छौं। यही हाम्रो समाजको सबैभन्दा ठुलो विरोधाभास हो। हामी शक्तिको पूजा गर्छौं तर शक्तिलाई निर्णय गर्ने ठाउँमा पुग्न अझै संघर्ष गर्न बाध्य बनाउँछौं। हामी महिलालाई सम्मान गर्छौं भन्छौं तर निर्णय गर्ने ठाउँमा उनीहरूको उपस्थिति अझै अपवादजस्तै छ। हामी समृद्ध नेपालको सपना देख्छौं तर त्यसका लागि आवश्यक आधा जनशक्तिलाई पूर्ण रूपमा उपयोग गर्न सकेका छैनौं।

नेपालको विकासको सबैभन्दा ठुलो प्रश्न आज राजनीति होइन, उत्पादनशील जनशक्तिको उपयोग हो। लाखौं युवा बिदेसिएका छन्। गाउँका खेत बाँझा छन्। उद्योगले दक्ष जनशक्ति खोजिरहेका छन्। अर्थतन्त्र सुस्त छ। यस्तो बेला हामी विदेशी लगानीको खोजीमा छौं, जबकि हाम्रो सबैभन्दा ठुलो लगानी घरभित्रै बसेको छ - नेपाली महिला।

महिलालाई केवल सामाजिक न्यायको दृष्टिले हेर्ने समय समाप्त भइसकेको छ। अब महिलाको सशक्तीकरणलाई नेपालको आर्थिक नीतिको केन्द्रमा राख्नुपर्छ किनभने महिलाको सशक्तीकरण कुनै कल्याणकारी कार्यक्रम होइन, यो आर्थिक रूपान्तरणको सबैभन्दा प्रभावकारी रणनीति हो।

एउटी महिला शिक्षित हुँदा एउटा परिवार शिक्षित हुन्छ भन्ने भनाइ पुरानो भइसक्यो। आजको यथार्थ अझ ठुलो छ। एउटी महिला उद्यमी बन्दा रोजगार सिर्जना हुन्छ। एउटी महिला किसान आधुनिक बन्दा उत्पादन बढ्छ। एउटी महिला वैज्ञानिक बन्दा नवप्रवर्तन जन्मिन्छ। एउटी महिला नीतिनिर्माताले निर्णय गर्दा समाज थप समावेशी बन्छ। एउटी महिलाले नेतृत्व गर्दा पुस्तौंसम्म प्रभाव पार्ने परिवर्तन सम्भव हुन्छ। त्यसैले महिलालाई अवसर दिनु दया होइन, राष्ट्रप्रतिको दायित्व हो।

नेपालका महिलाले अवसरको अभावमा पनि असाधारण क्षमता देखाइसकेका छन्। उनीहरूले साना व्यवसायलाई उद्योगमा रूपान्तरण गरेका छन्। स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याएका छन्। कृषि, पर्यटन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, बैंकिङ, सञ्चार, अनुसन्धान र सार्वजनिक प्रशासनदेखि निजी क्षेत्रसम्म आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। अझ भन्ने हो भने नेपालमा महिलाहरू प्रधानमन्त्रीदेखि मुख्यसचिव, प्रधानन्यायाधीश, सभामुखजस्ता सर्वोच्च पदमा पुगिसकेका छन्। अझ भर्खरकै उदाहरण लिन सक्छौं।

२०८२ भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा नेपालले धेरै ठुलो क्षति भोग्नुपरेको थियो। त्यतिखेर नेपालीको भविष्य अन्योल थियो तर त्यसको बागडोर समाएर देशलाई एउटा गन्तव्य देखाई अघि बढेकी प्रधानमन्त्री पनि महिला हुनुहुन्थ्यो। तर प्रश्न अझै उही छ। यति सीमित अवसरमा महिलाले यति धेरै काम गर्न सक्छन् भने समान अवसर पाए उनीहरूले नेपाललाई कहाँसम्म पुर्‍याउन सक्लान्?

आज पनि धेरै महिलाको सपना बैंकको ढोकामै रोकिन्छ। धेरै उद्यमी महिलाको व्यवसाय बजार नपाएर बन्द हुन्छ। धेरै प्रतिभाशाली युवतीले अवसर नपाएर विदेश जाने निर्णय गर्छन्। यो केवल व्यक्तिगत क्षति होइन। यो नेपालको पुँजी, प्रतिभा र भविष्यको क्षति हो।

नेपालले अब नयाँ आर्थिक दर्शन अपनाउनुपर्छ। सडक र पुल मात्र विकास होइनन्। महिलाको क्षमता खुल्ने वातावरण निर्माण गर्नु पनि विकास हो। जलविद्युत् मात्र ऊर्जा होइन। महिलाको सिप, नेतृत्व र उद्यमशीलता पनि राष्ट्रको ऊर्जा हो। विदेशी मुद्रा मात्र पुँजी होइन। महिलाको ज्ञान, श्रम र सिर्जनशीलता पनि राष्ट्रिय पुँजी हो। समृद्ध राष्ट्रहरू प्राकृतिक स्रोतले मात्र समृद्ध भएका होइनन्। उनीहरूले आफ्ना नागरिकको क्षमता उपयोग गरेका छन्। नेपालसँग हिमाल छ, नदी छ, प्राकृतिक सम्पदा छ तर यी सबैभन्दा ठुलो सम्पत्ति भनेको नेपाली जनशक्ति हो र त्यसको आधाभन्दा बढी हिस्सा महिलाहरू हुन्। नेपालले महिलाको आर्थिक सहभागिता उल्लेखनीय रूपमा बढाउन सक्यो भने निर्यात बढ्ने छ, रोजगारी सिर्जना हुने छ, आयातमा निर्भरता घट्ने छ, नवप्रवर्तन विस्तार हुने छ र स्थानीय अर्थतन्त्र बलियो हुने छ। महिलाको आर्थिक सशक्तीकरणले परिवार मात्र होइन, राष्ट्रिय अर्थतन्त्रलाई पनि स्थायित्व दिन्छ।

आर्थिक शक्ति मात्र पर्याप्त हुँदैन। सामाजिक चेतना पनि आवश्यक हुन्छ। छोरीलाई अवसर, शिक्षामा समान पहुँच, सम्पत्तिमा अधिकार, सुरक्षित कार्यस्थल, समान ज्याला, वित्तीय पहुँच र नेतृत्वको अवसर सुनिश्चित नगरी महिलाको क्षमता पूर्ण रूपमा उजागर हुन सक्दैन। महिलालाई कमजोर भनेर संरक्षण गर्ने होइन, सक्षम भनेर विश्वास गर्ने समय आएको छ। नेपालको आगामी विकासयात्रा ‘पावर अफ पोलिटिक्स’ले होइन, ‘पावर अफ हर’ले तय गर्न सक्छ किनकि महिला केवल घर चलाउने शक्ति होइनन्, उनीहरू अर्थतन्त्र चलाउने शक्ति हुन्। उनीहरू केवल परिवारको आधार होइनन्, उनीहरू राष्ट्रको भविष्य हुन्।

अब हामीले देवीको पूजा गर्ने संस्कृतिलाई महिलाको सम्मान गर्ने संस्कृतिसँग जोड्नुपर्छ। पूजा केवल मन्दिरभित्र सीमित हुनुहुँदैन। त्यो विद्यालयमा देखिनुपर्छ, बैंकमा देखिनुपर्छ, उद्योगमा देखिनुपर्छ, संसद्मा देखिनुपर्छ, नीति निर्माणमा देखिनुपर्छ, हरेक निर्णयमा देखिनुपर्छ। जब एउटी महिलाले आफ्नो क्षमताअनुसार उड्ने स्वतन्त्रता पाउँछिन्, त्यतिबेला एउटा परिवार परिवर्तन हुन्छ। हजारौं महिलाले अवसर पाउँदा समाज परिवर्तन हुन्छ। लाखौं महिलाले नेतृत्व गर्दा राष्ट्र परिवर्तन हुन्छ। त्यसैले नेपालको समृद्धिको नयाँ मन्त्र एउटै हुनुपर्छ– महिलालाई सम्मान होइन, समान अवसर, महिलालाई सहभागिता होइन, नेतृत्व, महिलालाई संरक्षण होइन, सशक्तीकरण।

त्यही दिन हामीले ‘यादेवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता’ भन्ने मन्त्रको वास्तविक अर्थ बुझेका हुने छौं किनकि शक्ति केवल पुज्ने वस्तु होइन। शक्ति भनेको राष्ट्र निर्माण गर्ने क्षमता हो र त्यो शक्ति आज पनि प्रत्येक नेपाली महिलाभित्र जीवित छ।

प्रकाशित: १८ श्रावण २०८३ ०६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App