तिहार पर्वको अवसरमा नेपालीहरूको बाक्लो बस्ती रहेका अमेरिकाका दुई सहरहरू ओहायोको कोलम्बस र पेन्सिलभेनियाको ह्यारिसवर्गमा काग तिहारको अघिल्लो दिन सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न भएका छन्। सयौँको संख्यामा उपस्थित नेपाली जातिका स्थानीयवासीहरुसंगै अमेरिकी राज्य सांसद र स्थानीय जनप्रतिनिधिसमेत देउसी भैलो कार्यक्रममा रमाएका थिए।
नेपाली संस्कृतिको क्षेत्रमा क्रियाशील परोपकारी संस्था ‘इन्टरनेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को आयोजनामा सम्पन्न भएका ती कार्यक्रमहरूमा अमेरिकामै जन्मे हुर्केका नेपाली जातिका बालबालिका, किशोर किशोरी, युवा युवती र नेपाल, भुटान एवं भारतका विभिन्न भागमा जन्मेर अमेरिकामा स्थायी बसोबास गरिरहेका नेपालीहरूले सामूहिक देउसी खेलेका थिए। नेपाल सरकारका अवैतनिक वाण्ज्यिदूत डा.दामोदर पौडेलको प्रमुख आतिथ्यमा भएको कोलम्बस सहरको कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारका जुन सुकै कुनामा जन्मे हुर्के पनि वा जहाँ बसोबास गरे पनि नेपाली जातिको आफ्नो संस्कृतिलाई संरक्षण, संवद्र्धन र प्रवर्धन गर्नु पर्नेमा जोड दिए।
उनले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सजस्ता दुई ठुला रियालिटी शो हरू भर्खरै सम्पन्न गरेर फाउन्डेसनले संसारभरका नेपाली प्रतिभालाई नेपाली कला संस्कृतितर्फ अझ प्रेरित गर्ने प्रयत्न गरेको बताए। नेपाली संस्कृति नै नेपाली जातिको पहिचान भएकाले आफ्नो पहिचान जुग जुगसम्म जोगाइराख्न आफू र फाउन्डेसनले निरन्तर कार्य गर्ने जानकारी दिएका थिए।
उनले अमेरिकाका सातवटा सहरहरूमा नेपाली गीत सङ्गीत र नृत्यका निःशुल्क कक्षाहरू सञ्चालन गरी १३ सयभन्दा बढी नेपाली जातिका बालबालिका र किशोर किशोरीहरूलाई नेपाली कला, संस्कृति सिकाइरहेको जानकारी पनि दिएका थिए। प्रमुख अतिथि वाणिज्यदूत पौडेलले नेपाली संस्कृतिलाई पहिचानको रूपमा गर्व गर्ने वातावरण बनाउन फाउन्डेसनले संसारभर गरेको प्रयत्नको सह्राना गर्दै नेपाल सरकारका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेका थिए। यसै गरी पेन्सिलभेनियाको ह्यारिसवर्गमा आयोजित कार्यक्रममा सो राज्यका राज्यसभासद् डेभ म्याड्सनले नेपाली जातिको तिहार चाडको शुभकामना व्यक्त गर्दै राज्यमा बसोबास गर्ने नेपाली जातिका मानिसहरूले गरेको व्यापार व्यवसाय एवं सामाजिक कार्यहरूले राज्यको विकासमा उल्लेखनीय योगदान दिएको बताए।
स्थानीयसँगै देउसी भैलोमा सरिक भएका उनले सयौँको संख्यामा आआफ्ना छोरा छोरीसहित भेला भएर नेपाली जातिले यसरी चाड मनाउँदा आफू निकै प्रभावित भएको पनि बताएका थिए। कार्यक्रममा फाण्डेसनका संस्कृति विभाग प्रमुख ओमराज गुरुङले भुटानबाट लेखेटिंदा होस् कि नेपालका शरणार्थी शिविरमा बस्दाको कठिन अवस्थामा होस् वा अमेरिकामा पुनस्र्थापित भई सहज जीवन यापन गर्दा होस् आफूहरूले नेपाली संस्कृतिलाई जीवनको अभिन्न अङ्ग बनाउँदै आएको बताए । कार्यक्रममा सस्क्वेहाना सहर र स्वतारा सहरका कमिस्नरहरू फ्रेड फेयोना र टम कनलीले नेपाली जातिका स्थानीयवासीहरुको सामुहिकरुपमा मनाउने पर्व संस्कृतिले आफूहरू प्रभावित भएको बताएका थिए । दुवै सहरका कार्यक्रमहरूमा फाउन्डेसनको गायन तथा नृत्य कक्षाका शिक्षक एवं विद्यार्थीहरूले सामूहिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए।
ह्यारिसवर्गमा साहित्यकार गण्डकीपुत्रले कविता वाचन गरे भने अमेरिका भ्रमण रहेका दार्जलिङका नेपाली गायक महेश शिवाले आफ्ना केही गीत प्रस्तुत गरेका थिए।
प्रकाशित: २ कार्तिक २०८२ १०:३३ आइतबार





