शुक्रबार कर्णालीकै प्रसिद्ध चन्दननाथ-भैरवनाथ मन्दिरमा चन्दननाथ नगरपालिका-३, रडिखेल्ला जंगलबाट ५२ हाते लिंगो ल्याइएको छ।
यो मन्दिरमा हरेक वर्ष घटस्थापनाका दिन लिंगो गाड्ने परम्परा छ । प्रत्येक दिन पूजा पाठ हुने यस मन्दिरमा हप्ताको एकपटक विशेष पूजा हुने गर्दछ।
चन्दननाथ नगरपालिका -५ का स्थानीय अगुवा चित्रलाल श्रेष्ठले तीन वटा लिंगो गाड्ने परम्परा १४९८ सालदेखि चलिआएको बताए। उनले भने, ‘हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन लिंगो तान्ने रित प्राचीनकालदेखि कै हो । सरकारी कर्मचारी, नेपाली सेना, प्रहरी र स्थानीय दलित समुदायले आ-आफ्ना लिंगो घटस्थापनाका दिन मन्दिरमा गाड्ने प्रथा छ।’

समयसँगै परम्परा फेरिए पनि अहिले सेना, प्रहरी, स्थानीय भक्तजन र युवाहरूले लिंगो ल्याउने गरेका छन्। अघिल्ला वर्षमा सरकारी कर्मचारी, स्थानीय क्षेत्री, सेनाले ‘पल्टन लिंगो’, ब्राह्मण समुदायले ‘थपला लिंगो’ र दलित समुदायले ‘कमसला लिंगो’ ल्याउने चलन थियो।
केही वर्षयता यी परम्परागत विधिमा कमी आएको देखिएको छ। चन्दनाथ-भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार स्थानीयले जंगलबाट लिंगो ल्याउन छोडेपछि नेपाली सेना र प्रहरीको सहयोग लिनुपरेको हो ।

लिंगो गाड्ने परम्परा स्थानीयले विशेष पर्वकै रूपमा मनाउँछन् । त्यसैले कर्णाली प्रदेश सरकारले सरकारी बिदा पनि दिने गरेको छ।
पछिल्लो समय वन फडानी हुन थालेपछि मन्दिरमा हरेक वर्ष फेरिने लिंगो पाइन छाडेको छ । लिंगो बनाउने रुख खोज्न निकै टाढा जानुपरेको गुनासो स्थानीयले गरे ।
'पहिले गाउँ नजिकै प्रशस्त रुख पाइने भएकाले लिंगो बनाउने रुख खोज्न टाढा जानु पर्दैनथ्यो,' चन्दननाथ भैरवनाथ गुठी समितिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यले भने, ‘अहिले निकै टाढा जानुपर्ने अवस्था छ । हाम्रो संस्कृतिअनुसार हालिनुपर्ने लिंगो बनाउने रुख पाइनै मुस्किल भइसक्यो ।’
चन्दननाथ मन्दिरका लागि ५२ हातको दुईटा लिंगो र भैरवनाथका लागि ४८ हातको लिंगो हाल्ने चलन छ ।

लिंगो बनाउन जाँदा पहिलो दिन जंगलको पूजा गरिन्छ । त्यहीँ बोको चढाएर मात्र रुख काट्ने चलन छ । लिंगो तान्न पूजापाठ गरेर बाजागाजा सहितको टोली नै जंगल जाने गर्छ । पहिले लिंगो तान्नमा प्रयोग हुने लठ्ठा (चौंरीका फुर्का) मुगुदेखि ल्याउने गरिन्थ्यो । बाँध्ने डोरी हुम्लाबाट आइरहन्थ्यो । लिंगो खडा गर्न चाहिने बाबियोका डोरी कालिकोबाट पठाइन्थ्यो । अहिले यी सबै जिल्लाबाट सामान आउन छाडेका छन् । पछिल्लो पुस्ता धर्मकर्मप्रति धेरै चासो नदिँदा संस्कार र संस्कृति संरक्षणमा चुनौती बढ्न थालेको छ।

प्रकाशित: ३ आश्विन २०८२ १८:०९ शुक्रबार





