राष्ट्रपति रामचन्द्र पौडेलले तिज पर्व भावनात्मक एकता, माया, करुणा र सृजनात्मकताको प्रतीकको रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन्।
नेपाली हिन्दू महिलाको महान् पर्व हरितालिका (तिज), २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम होस् भन्ने कामना गरेका छन्।
यो पर्वमा नेपाली नारीले आफ्नो अटल सौभाग्य तथा समृद्धिको लागि भगवान् शिव र पार्वतीको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहेको छ। परापूर्वकालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र सामाजिक सहिष्णुता तथा ऐक्यबद्धताको प्रतिविम्बको रूपमा यो पर्वलाई मनाउँदै आएको पाइन्छ।
परिवार तथा समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता, मेलमिलाप, निष्ठा, धैर्य र समर्पण कायम गर्न यो पर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति पौडेलको भनाइ छ। 'महिलाविरुद्ध हुन सक्ने भेदभाव, हिंसाजन्य कार्यलगायत सबै किसिमका अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्न तिज पर्वले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको छु,' राष्ट्रपतिले सन्देशमा भनेका छन्।
'शान्ति र प्रेरणाको रूपमा रहने समस्त नारी जाति प्रकृति र सृष्टिको दृष्टिले उच्च स्थानमा पर्छन्। आदर्शमय तथा एकतात्मक सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै अझ समुन्नत बनाउन यस्ता मौलिक पर्वको गरिमालाई सम्मानजनक बनाई राख्नु अतिआवश्यक रहेको छ,' राष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन्।
राष्ट्रपति पौडेलले हरितालिका (तिज) पर्व, २०८२ ले सबै क्षेत्रमा महिलाको सम्मानजनक सहभागितालाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भन्ने शुभकामना प्रकट गरेका छन्।
प्रकाशित: १० भाद्र २०८२ ०७:०१ मंगलबार





