१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

दसैंका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा भित्र्याइयो राँगो

भक्तपुरको प्रसिद्ध नवदुर्गा द्योछें (देवता घर) मा दशैंको तयारी स्वरूप महिषासुरको प्रतीक मानिने ‘खम्ये’ (ठूलो राँगो) सोमबार भित्र्याइएको छ।

विजया दशमीको कालरात्रिमा वध गरिने यो राँगोलाई घण्टाकर्ण चतुर्दशी र नागपञ्चमीको बीचमा द्योछेंमा ल्याउने परम्परा अनुसार यस वर्ष पनि भित्र्याइएको हो। जससँगै भक्तपुरमा दशैंको रौनक सुरु भएको छ।

प्रत्येक वर्ष विजया दशमीको दिन राष्ट्रप्रमुखले दर्शन गर्ने यो मन्दिरमा भित्र्याइएको खम्येलाई नवमीको दिनसम्म द्योछेंमै पालेर राखिन्छ।

नवदुर्गा गणका नाइके विज्रेस बनमालाका अनुसार, नवमीको दिन (कालरात्रिमा) यसलाई वध गर्नुअघि नगरभरि दौडाएर जात्रा मनाइन्छ। जसलाई स्थानीय नेपालभाषामा ‘खम्ये जात्रा’ भनिन्छ।

जात्राअघि राँगोलाई रक्सी खुवाएर मातन लगाइन्छ र हुलहुज्जतका साथ नगर परिक्रमा गराइन्छ। यो जीवन्त जात्रा हेर्न सडकका दुवै छेउमा हजारौं नगरवासीको भीड लाग्ने गर्छ।

नगर परिक्रमापछि राँगोलाई नगरको पूर्वमा रहेको ब्रह्मायणीमा लगेर राति वध गरिन्छ। त्यसको भोलिपल्ट, विजया दशमीका दिन, ब्रह्मायणीमा ठूलो मेला लाग्छ। जसमा सहभागी हुन भक्तपुरसहित काठमाडौं, ललितपुर र काभ्रेपलान्चोकबाट समेत दशौं हजार श्रद्धालु आउँछन्।

वध गरिएको राँगोको मासुलाई प्रसादका रूपमा जात्रामा जिम्मेवारी लिने कसाईदेखि नवदुर्गाको मखुन्डो बनाउने चित्रकारसम्मलाई बाँड्ने गरिन्छ।

यस वर्ष खोटाङको चुइचुम्मा गाउँपालिका घर भई हाल ललितपुरमा बस्दै आएका अरुण राईले खम्ये चढाएका हुन्। उनले बनेपाका देवीप्रसाद ढुंगेलले ३ वर्षदेखि पालेको निख्खर कालो र ठूलो राँगो एक लाख २० हजार रुपैयाँमा किनेर चढाएको जानकारी दिए।

आगामी दुई वर्षका लागि पनि राईले नै राँगो चढाउने भाकल गरेका छन् र त्यसलाई पाल्ने जिम्मा पनि ढुंगेलले नै पाएका छन्।

धार्मिक आस्थाअनुसार, भगवानलाई खम्ये चढाउँदा पुण्य मिल्ने विश्वासका कारण वर्षेनी श्रद्धालुहरूबीच राँगो चढाउन प्रतिस्पर्धा नै हुने गर्छ। तलेजु मन्दिरका पदाधिकारीहरूको संलग्नतामा खोजिने यो राँगोले भक्तपुरमा दशैंको आगमनको औपचारिक संकेत गर्दछ।

प्रकाशित: १२ श्रावण २०८२ १९:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App