१८ आश्विन २०८३ आइतबार
image/svg+xml
धर्म/संस्कृति

मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने उद्देश्यले साकेवाथान (चोथोवा) निर्माण गरिएको छ। आधुनिक जीवनशैलीका कारण मौलिक संस्कृति र परम्परा ओझेलमा पर्दै गएसँगै संस्कृतिको संरक्षण गर्न यहाँ साकेवाथान निर्माण गरिएको हो।

धार्मिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित बनाउन यहाँ करिब रु १४ लाखको साकेवाथान निर्माण गरिएको छ। टेम्केमैयुङ गाउँपालिकाको बजेटमा वडा कार्यालयको समन्वय तथा स्थानीयवासीको सक्रिय सहभागितामा साकेवाथान निर्माण गरिएको वडाध्यक्ष बालचन्द्र राईले जानकारी दिए। उनका अनुसार समुदायको पहिचानसँग जोडिएको किराँत संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सांस्कृतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको हो।

'हामीले भौतिक पूर्वाधारसँगै सांस्कृतिक पूर्वाधारको विकासमा पनि प्राथमिकता दिएका छौँ। मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तासम्म यसको निरन्तरता कायम गर्न साकेवाथान निर्माण गरेका हौँ', वडाध्यक्ष राईले भने।

साकेवाथान किराँत समुदायको धार्मिक आस्था र सांस्कृतिक अभ्याससँग प्रत्यक्ष रूपमा जोडिएको छ। यहाँ उधौली र उभौली पर्वका अवसरमा वर्षमा दुईपटक विशेष पूजाआजा गरिन्छ भने साकेला नाच प्रदर्शन गर्ने गरिन्छ। यी पर्व कृषि चक्रसँग सम्बन्धित रहेको र प्रकृति, भूमि तथा देवीदेवताप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहेको स्थानीयवासी देवकुमार राईले बताए।

'पहिले व्यवस्थित पूजास्थलको अभावमा उधौली, उभौलीलगायत सांस्कृतिक गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको थियो', उनले भने, 'अहिले साकेवाथान निर्माण भएपछि पूजाआजा र साकेला नाचलगायत गतिविधि व्यवस्थित रूपमा सञ्चालन गर्न सहज भएको छ।'  

साकेवाथानले समुदायमा सामाजिक एकता र सद्भाव बढाउनसमेत सहयोग पुगेको स्थानीयवासीको भनाइ छ। चाडपर्व तथा सांस्कृतिक अवसरमा विभिन्न उमेर समूहका मानिस एकै ठाउँमा भेला भएर परम्परागत संस्कृतिको अभ्यास गर्ने भएकाले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्पराबारे जानकारी गराउनसमेत सहयोग पुगेको उनीहरू बताउँछन्।

साकेवाथान निर्माणसँगै छिनामखुमा सांस्कृतिक गतिविधि बढ्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने स्थानीयको भनाइ छ। सांस्कृतिक महत्व बोकेको यस स्थललाई थप व्यवस्थित गरी प्रचारप्रसार गर्न सके धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि आकर्षणको केन्द्र बनाउन सकिने स्थानीयवासी जीवन राईले बताए।

किराँत समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको साकेवाथानलाई व्यवस्थित सांस्कृतिकस्थलका रूपमा विकास गर्दै भावी पुस्तासम्म संस्कृति हस्तान्तरण गर्ने लक्ष्य राखिएको उनले बताए। वडा कार्यालयले आगामी दिनमा साकेवाथानको संरक्षण, आवश्यक पूर्वाधार विकास तथा प्रचारप्रसारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित: १८ आश्विन २०८३ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App