१५ पुस २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

कपिलवस्तुमा क्रिसमस रौनक

प्रेम, शान्ति र मुक्तिको प्रतीकका रूपमा कपिलवस्तुका इसाई समुदायले आफ्नो प्रमुख पर्व क्रिसमस धुमधामका साथ मनाएका छन्। येशु ख्रिष्टको जन्मोत्सवका अवसरमा इसाई धर्मावलम्बीहरूले गिरिजाघरहरूमा एक–आपसमा शुभकामना आदान–प्रदान गर्दै पर्व मनाएका हुन्।

यस अवसरमा जिल्लाभर रहेका दुई दर्जनभन्दा बढी गिरिजाघरहरूमा सामूहिक प्रार्थना, भजन–कीर्तन, मनोरञ्जन तथा भोजन कार्यक्रम आयोजना गरिएको थियो। क्रिसमसको अवसरमा एकअर्कालाई उपहार दिँदै हर्षोल्लासका साथ पर्व मनाइएको छ।

गिरिजाघरहरूमा आयोजित विशेष कार्यक्रममा बाइबल पाठ तथा येशु ख्रिष्टको जीवन र शिक्षाबारे चर्चा गरिएको थियो। कपिलवस्तुको तौलिहवा, लोहरौला, चार नम्बर, सगरहवा, कोपवा, चन्द्रौटा, कृष्णनगरलगायत स्थानका गिरिजाघरहरूमा दिनभर सामूहिक प्रार्थना, नाचगान र भोज कार्यक्रम चलेका थिए।

मानवजातिको मुक्तिदाताका रूपमा येशु ख्रिष्टको जन्मदिनलाई इसाई समुदायले विशेष महत्त्वका साथ मनाउने गरेका छन्। मानव जातिको रक्षाका लागि परमेश्वरले आफ्ना एकमात्र पुत्रलाई संसारमा पठाएको विश्वास इसाई धर्मग्रन्थमा उल्लेख छ। तत्कालीन समयमा अन्याय, अत्याचार र विभेदमा परेका मानिसहरूका लागि येशुले बलिदान दिएको तौलिहवास्थित एजी अनुग्रह चर्चका पास्टर स्टेफिन थापाले बताए।

येशु ख्रिष्टको स्मरणबाट इस्वी संवत् सुरु भएको मान्यता पनि रहेको छ। दुःखी र पीडितलाई सशक्त बनाउने येशुको शिक्षाले मानवजातिका लागि प्रेरणाको स्रोत बनेको पास्टर थापाको भनाइ छ।

नेपालमा करिब चार सय वर्षअघि इसाई धर्म प्रवेश गरे पनि कपिलवस्तु जिल्लामा भने विसं २०५२ सालमा पहिलोपटक कपिलवस्तु नगरपालिकाको आनन्दबागमा आराधनालय सञ्चालन भएको इतिहास छ। त्यसयता इसाई धर्मावलम्बीहरूको संख्या क्रमशः बढ्दै गएको बताइन्छ।

आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रिष्टको जन्म इजरायलको बेथलेहेममा भएको विश्वास गरिन्छ। कुमारी मरियमबाट जन्मिएका येशु ख्रिष्टले मानवजातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिएको विश्वासका आधारमा इसाई समुदायले क्रिसमसलाई विशेष उत्सवका रूपमा मनाउने गरेका छन्।

प्रकाशित: १० पुस २०८२ १७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App