सूर्य भगवानको उपासना र प्रकृतिप्रतिको आस्था प्रदर्शन गर्ने पर्व छठ भक्तपुरको कमलविनायक पोखरीमा यस वर्ष सोमबार अभूतपूर्व सम्पन्न भएको छ । पोखरी वरिपरि र पोखरीको पानीमा छठका व्रतालु महिलाहरूको भीडले यस्तो दृश्य बनायो, मानौँ पूरा पोखरी श्रद्धा र उज्यालोले छोपिएको हो ।
छठ पर्वको चार दिन लामो क्रमभित्र सोमबार साँझको अर्घ दिने बेला भक्तपुरका विभिन्न स्थानबाट आएका व्रतालुहरू, परिवारका सदस्य र दर्शकहरूको घुइँचो कमलविनायक पोखरी वरपर चारैतिर जम्मा भएको थियो । अस्ताउँदो सूर्यलाई अर्घ दिएर व्रतालुहरूले भगवान् सूर्यप्रति कृतज्ञता प्रकट गरे ।
कमलविनायक पोखरी क्षेत्र बिहानैदेखि नै सरसफाइ, सजावट र सांस्कृतिक वातावरणले भरिएको थियो । स्थानीय टोल विकास समितिहरू र युवाहरूले पोखरी वरिपरि रंगीचंगी बत्ती, ढाकाका झण्डा र फूलमालाले सजाएर धार्मिक सौन्दर्य थपेका थिए । स्थानीय कलाकारहरूले मादल र झ्यालीको तालमा पारम्परिक भजनसमेत प्रस्तुत गरेका थिए ।
छठ पर्वमा महिलाहरूले कठोर व्रत बस्ने परम्परा रहँदै आएको छ । व्रतालुहरूले नुन, तेल, रसायनरहित आहार ग्रहण गरेर ‘अरवा अन्न’ मात्र सेवन गर्छन् । तीस वर्षीया व्रतालु रेखा यादव भन्छिन्, ‘छठ केवल पूजा होइन, यो आत्मशुद्धि र परिवारको सुखसमृद्धिका लागि गरिएको संकल्प हो ।’
भक्तपुरमा विगत केही वर्षदेखि छठ पर्व मनाउने परम्परा बढ्दो क्रममा छ । मूलतः तराई क्षेत्रको पर्व मानिने छठ अहिले उपत्यकाका विभिन्न ठाउँहरूमा विशेष गरी कमलविनायक पोखरी उत्साहका साथ मनाइँदै आएको छ । पोखरीमा राति हजारौको भीड लागेको थियो ।
स्थानीयवासी बिश्नु महतो भन्छन्, ‘पहिले छठमा थोरै मान्छे आउँथे, अहिले भक्तपुरमै हजारौंको भीड हुन्छ । यो हाम्रो साझा संस्कृति बनिसकेको छ ।’ पर्वको क्रममा पटका पत्काउनेहरु पनि उतिकै थियो । यसले भने जात्रालुहरुलाई त्रसित पारेको देखियो ।
साँझदेखि बिहानसम्म जल, उज्यालो र आस्थाले भरिएको कमलविनायक पोखरीले भक्तपुरको धार्मिक, सांस्कृतिक र सामुदायिक एकताको सन्देश दिएको छ । साँच्चै, यस वर्षको छठमा कमलविनायक पोखरी श्रद्धा, सौन्दर्य र समर्पणले पूर्ण रूपमा छोपिएको थियो ।
भक्तपुर नगरमा मात्रै साना ठूला गरी ३७ वटा पोखरीरहेको बताइन्छ । ती पोखरीहरुमध्ये ठूलो पोखरीको रुपमा छ कमलविनायक पोखरी । यो पोखरी खुल्ला पनि छ । तर यस्तै ठूला पोखरीहरुका रुपमा रहेको सिद्धपोखरी, रानीपोखरीलगायतका पोखरी भने रातको समयमा आवतजावत वन्द हुन्छ । यही कारण यही खुल्ला पोखरीमा छठको रौनक प्रत्येक वर्ष चल्दै आएको हो ।
प्रकाशित: १० कार्तिक २०८२ १९:५० सोमबार




-600x400.jpg)
