१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

बाह्र वर्षपछि भक्तपुरमा चण्डेश्वरी जात्रा

भक्तपुरमा सोमबार १२ वर्षे चण्डेश्वरी जात्रा भएको छ । १२ वर्षमा एक पटक हुने १२ वर्षे चण्डेश्वरी जात्रा धुमधामका साथ दिनभर भएको हो ।  

जात्रा भक्तपुर नगरपालिका वडा नं ५ चण्डेश्वरी अजिमाको मन्दिरबाट सुरु भएको थियो । श्री चण्डेश्वरी अजिमाको जात्रा गर्दा धातुबाट निर्मित चासुुः अजिमाको जात्रा गरिन्छ । १२ वर्षमा गरिने जात्रा सापारू (गाईजात्रा) को भोलिपल्ट चापको काठबाट बनेको चासुुः अजिमालाई सानो खटमा राखी भक्तपुर नगर परिक्रमा गरिन्छ । यही अनुसार सोमबार हजारौं जात्रालुहरुको भव्य सहभागितामा नगर परिक्रमा गराइएको हो ।  

चापको काठबाट बनेको अस्त भुजा भएका चण्डासुरको बध गर्न लागेकी मयूरवाहन भई अन्य भुजामा विभिन्न हातहतियारबाट सुशोभित चण्डेश्वरी अजिमाको मुर्तिलाई धुमधामका साथ जात्रा गर्ने चलन अनुसार जात्रा भएको हो । जात्राको व्यवस्थिन गर्न अग्रभागमा ज्वः कुवियो सुकुन्दा राख्ने, धां बाजा, जीउमा बत्ती बाल्ने, दाफा भजनहरू, चण्डेश्वरी अजिमा विराजमा कट त्यसपछि परम्परागत बासुरी बाजाहरू, दीप प्रज्वलित सुकुन्दा, धिमे बाजाहरू, ढल्चा भजनहरूका साथ भक्तपुर नगर परिक्रमा गरेको थियो ।  

चण्डेश्वरी मचा खलका अध्यक्ष विजयराम माकले जानकारी दिए अनुसार जात्रा दिउँंसो दुई बजे मन्दिरबाट सुरु भएको थियो । त्यसपछि क्रमशः क्वाछें, पाँंचतल्ले मन्दिर, गहिटी, नासमना, भार्वाचो हुँंदै दरवार स्क्वायर पुगेको थियो । त्यहाँंबाट पनि पुनः गाईजात्राको रुट हुँंदै मन्दिरमै पुगेर राति सम्पन्न भएको थियो ।  

१२ वर्षे जात्रा व्यवस्थापन समितिका संयोजक सानुलाला त्वानाबासुले १२ वर्षमा एक पटक हुने जात्रा धुमधामले सम्पन्न भएको जानकारी गराए । जात्रामा हजारौ सहभागी भएको र नगरभरि सवैतिर जात्रा हेर्र्न बसेकाहरुले भरिभराउ भएको उनले जानकारी दिए ।  

स्थानीयहरुले दिएको जानकारी अनुसार २०४२ सालमा पहिलो पटक जात्रा गरेको थियो । त्यसपछि २०५२ साल जात्रा भएको थियो । त्यसपछि २०६२ साल र २०७२ सालमा भएको थियो । २०४२ साल भन्दा अगाडि १२ वर्षे जात्रा ३० वर्षसम्म संञ्चालन हुन सकेको थिएन । यसको कारण अनुसन्धानको विषय नै रहेको उनीहरुले बताए ।  

स्थानीय बृद्धकृष्ण कमाचार्यका अनुसार जात्रा कहिलेकहिले भयो भनेबारेमा पनि पूर्ण जानकारी प्राप्त हुन सकेको छैन । २०४२ सालमा मन्दिरको द्यौछें पुननिर्माण गरेपछि जिल्लामा धानबालीमा धान नपाक्ने समस्या आएपछि १२ वर्षे जात्रा पुनः सुरु भएको पाइएको उनले जनाए । त्यसपछि भने २०५२ सालमा पनि राज्यमा बाढीपहिरो आएकोले जात्रा मनाएको भने जानकारी रहेको उनले सुनाए । २०६२ सालमा पनि चण्डेश्वरी अजिमा मुख्य देवता नै चोरी भएको थियो भन्ने चोरी भएपछि नया देवता बनाई १२ वर्षको जात्रा गरेको इतिहास रहेको उनले सुनाए । त्यस्तै २०७२ साल वैशाख १२ गते महाभूकम्प भएपछि त्यही सालको प्रत्येक बर्ष मनाउने चण्डेश्वरीको जात्रामा पनि अवरोध परेकोले त्यसै वर्ष पनि १२ वर्षे जात्रा गरियो, उनले भने, जुन २०७२ साल भाद्र महिना १४ गते सोमबार गरेको थियो ।  

चण्डेश्वरी अजिमाले भक्तपुरको मात्र नभई नेपाल देशमा नै केही अनिष्ट भयो भन्ने त्यसवेलामा पनि अजिमालाई भक्तपुर नगर परिक्रमा गराउने गरेको पनि इतिहास रहेको इतिहासविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठले जनाए । श्री चण्डेश्वरी अजिमा १२ वर्षे जात्रा व्यवस्थापन मुल समितिका संयोजक सानुलाल त्वानाबासुलले यी र यस्तै विभिन्न कारणले १० वर्षको अन्तरालमा नै जात्रा संञ्चालन गरिदै आएका कारण यो बर्ष पनि सोमबार जात्रा गरेको जानकारी गराए ।

प्रकाशित: २६ श्रावण २०८२ १८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App