१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
धर्म/संस्कृति

दाजुभाइले एकापसमा लगाए भाइटीका

तिहार दाजुभाइ र दिदीबहिनीको पर्व हो। यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायूको कामना गर्छन्। तर तनहुँको व्यास नगरपालिका–१० सेवरका मदन र सुमन तिमिल्सिना दाजुभाइले एकापसमा भाइटीका लगाएका छन्। आज उनीहरूले शुभसाइतमा एकापसमा टीका लगाएका हुन्।

सुरुमा दाजु मदनले भाइ सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे। भाइटीकाको प्रक्रियाअनुसार निधारमा सप्तरङ्गी टीका लगाएर उनले फूलको माला गलामा पहिराइदिए। भाइको शत्रु नास र दीर्घायुको कामना गर्दै ओखर फोरे। त्यसपछि भाइ सुमनले दाजु मदनलाई भाइटीका लगाइदिए।

विगत आठ वर्षदेखि मदन र सुमनले यसरी नै एक अर्कालाई टीका लगाएर भाइटीका मनाउँदै आएका छन्। दिदीबहिनी नभएपछि आठ वर्षदेखि भाइटीका यसैगरी मनाउँदै आइरहेको दाजु मदनले बताए।

उनले भने, 'विगतमा आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौं। उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो। हामी टीका थाप्न कुरिरहेका थियौं। नआएपछि मन खल्लो भो। त्यसपछि हामी दाजुभाइले नै भाइटीका गर्ने सोच बनाएर सुरु ग¥यौं। त्यसपछि निरन्तर एक अर्कालाई टीका लगाएर भाइटीका मनाउँदै आइरहेका छौं।'

मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने। दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन। तिहारको मुख्य दिन भाइटीका, दिदीबहिनीले दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाउँछन्।  

प्रकाशित: ६ कार्तिक २०८२ १४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App