३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

‘नाच गानको राजधानी’ भक्तपुर

नाचगानको राजधानी भक्तपुरमा बिहीबार एउटै कार्यक्रममा सयौं कलाकारलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । गुन्हीपुन्ही सापारु (गाईजात्रा) २०८२ मा प्रदर्शन गरिएका विभिन्न नाचहरुमध्ये उत्कृष्टहरुलाई नगद पुरस्कारसहित सम्मान तथा प्रमाणपत्र वितरण गरिएको हो ।

घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरुको मूल्यांकन गरी त्यसमा उत्कृष्टहरुलाई एक भव्य समारोहवीच सम्मान तथा पुरस्कृत गरिएको हो । यो वर्षको गुन्हीपुन्ही सापारुमा विविध विधाअन्तर्गत १४६ सांस्कृतिक समूहले प्रतियोगितामा भाग लिएका थिए । त्यसमा हजारौं कलाकारहरु सहभागी थिए ।

गुन्हीपुन्ही सापारु २०८२ मा प्रदर्शन भएका घिन्ताङघिसी र माक प्याखँ परम्परागततर्फ मुस्याख्व देवी प्याखँ समूहमा महालक्ष्मीको भूमिकामा रहेका न्हुछेलक्ष्मी वनमाला उत्कृष्ट महिला कलाकार, तुछिमला भैल प्याखँ समूहको भैल पूर्णिक अवाल उत्कृष्ट पुरुष कलाकार, नागाचा प्याखँमा कृष्णको भूमिकामा रहेका अविस कुसी उत्कृष्ट बाल कलाकार र मुस्याख्व देवी प्याखँ समूहका गुरु (निर्देशक) साजन मुस्याख्व उत्कृष्ट गुरुको रुपमा सम्मानित भए ।  

त्यस्तै आधुनिक विधातर्फ लालाखींलगायत अन्य बाजा बजाउने वाद्यवादक अनुषा श्यामा उत्कृष्ट महिला कलाकार, गणेश दाफा भजनका रत्नसुन्दर पाँती उत्कृष्ट पुरुष कलाकार, आरोही समूहका सुपृच बासी उत्कृष्ट बालकलाकार, आस्था सांस्कृतिक समूहका निर्देशक सुजी ह्योँगजु उत्कृष्ट लेखक र आंस्था सांस्कृतिक परिवारको ख्यालका लेखक राज प्रजापति उत्कृष्ट लेखकबाट सम्मानित भए । उत्कृष्ट उनीहरुलाई प्रतिव्यक्ति रु. ५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरियो ।

सोही क्रममा भक्तपुर नगरपालिका क्षेत्रका प्रत्येक वडाबाट १ जना सांस्कृतिक गुरुहरुलाई उनीहरुको योगदानको कदरस्वरुप भक्तपुर नगरपालिकाले सम्मान गर्ने परम्परा अनुसार सम्मान गरिएको थियो । त्यस अनुसार दस वटा वडाका दस जना सांस्कृतिक गुरुहरूलाई दोसल्ला ओढाई प्रतिव्यक्ति नगद रु. २० हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

सम्मानित हुने सांस्कृतिक गुरुहरूमा भक्तपुर नगरपालिका वडा नं १ बाट चन्द्रभक्त सुवाल, वडा नं २ बाट रत्नभक्त ब्यान्जु, वडा नं ३ बाट तुल्सीभक्त त्वायना, वडा नं ४ बाट काशीबहादुर सुवाल, वडा नं ५ बाट आसबहादुर माक, वडा नं ६ बाट तुल्सी त्यात, वडा नं ७ बाट विष्णुभक्त ग्वाछा, वडा नं ८ बाट विष्णुभक्त भैनात्व, वडा नं ९ बाट आसराम प्रजापति र वडा नं १० बाट शुक्लज्योति बज्राचार्य रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंलगायतका अतिथिहरुले उत्कृष्ट कलाकारहरुलाई पुरस्कार वितरण तथा सास्कृतिक गुरुहरुलाई सम्मान, आधुनिक विधा र परम्परागत विधा र घिन्ताङघिसी, माक प्याखंका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै मुल्याकंनकर्ता र सहयोगीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा बिजुक्छेँले नाचगानको राजधानी भक्तपुरका घरघरमा कलाकारहरु रहेको बताए । यही कलाकारहरु प्रत्येक वर्ष सवैभन्दा वढी गाईजात्रामा विभिन्न रुपमा समाजमा प्रस्तुत हुने उनले बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, उपप्रमुख रजनी जोशी, प्रदेश सांसद् सुरेन्द्रराज गोसाई, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांग, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरे, नगरपालिकाका प्रशाशकीय अधिकृत वसन्त भटराईलगायतले बधाई ज्ञापन गरेका थिए ।

प्रकाशित: २ आश्विन २०८२ १९:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App