मिथिला-मधेसमा विवाहित महिलाले पतिको दीर्घायुका लागि वरको रूखमुनि पूजाआजा गरी वट सावित्री अर्थात् वरसाइत पर्व मनाएका छन्। प्रत्येक वर्ष झैं यस वर्ष पनि वरको रूखमुनि पूजाआजाका लागि १२ बजेपछि महिलाको भीड लागेको छ। यस पर्वलाई नारीत्व रक्षा र सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वका रूपमा लिइन्छ।
यो पर्व मिथिलाञ्चलमा प्रत्येक वर्ष ज्येष्ठ कृष्णपक्ष औंसीमा मनाइन्छ। यस पर्वमा वरको बोटको महत्व हुन्छ। वरको बोटले वर्षौंसम्म सर्वसाधारणलाई शीतलता दिने भएकाले पतिको दीर्घायुका लागि महिलाहरू वरको पूजा गर्छन्। जेठमा कडा घामबाट रक्षाका लागि वरको बोटमुनि पूजा गरिएको र पछि यही धार्मिक परम्पराका रूपमा विकास भएको मानिन्छ। दार्शनिक दृष्टिबाट वरको बोट दीर्घायु तथा अमरत्व बोधको प्रतीकका रूपमा स्वीकार गरिएको छ। वरको बोटलाई ज्ञान र निर्वाणको प्रतीक पनि मानिन्छ।
वरको वृक्षमुनि पतिको दीर्घायुका लागि पूजा गर्नु यस पर्वको अंग बनेको छ। महिलाहरूले व्रत पूजा गरी कथा सुनेर वरको बोटमा सुती धागो बाँध्ने गर्छन्। लहान नगपालिका वडा नं ४ बस्ने सुनिती यादवले भनिन्, ‘वरको बोटमा सुती धागो बाँध्नाले पतिको आयु बढ्ने जनविश्वास छ।’ एक दशकयता वरसाइत पूजा गर्दै आएकी यादवले भनिन्, ‘यो व्रत पतिको जीवनरक्षा र दीर्घायुका लागि रहेको लोक परम्परा छ। व्रतकथाको भावले पनि यही दर्शाउँछ।’
वट सावित्री पर्वको कथा
वरसाइत पर्वलाई सावित्री तथा सत्यवानको कथासँगै जोडिएको छ। सावित्रीलाई हिन्दु संस्कृतिमा ऐतिहासिक चरित्र मानिएको छ। सावित्रीको अर्थ वेद माता गायत्री र सरस्वती पनि हो। कथाअनुसार भद्र देशका राजा अश्वपतिका सन्तान भएनन्। उनले सन्तान प्राप्तिका लागि मन्त्रोच्चारणका साथै प्रतिदिन एक लाख आहुति दिने गर्थे। १८ वर्षसम्म यो क्रम जारी रह्यो। त्यसपछि सावित्रीदेवी प्रकट भएर राजालाई आशीर्वाद दिइन्, ‘राजन, तिमीलाई एक तेजस्वी कन्या सन्तानका रूपमा प्राप्त हुनेछ।’ सावित्रीदेवीको कृपाबाट जन्म लिएका कारण उक्त कन्याको नाम सावित्री नै राखियो।
सावित्री असाध्यै सुन्दर र गुणवान् थिइन्। योग्य बेहुला नपाएका कारण उनका पिता एकदमै दु:खी थिए। उनले आफ्नो छोरी सावित्रीलाई बेहुला खोज्न पठाए। सावित्री तपोवनमा गइन्। त्यहाँ साल्व देशका राजा द्युमत्सेन पनि वास गर्थे। उनको राज्यमाथि अर्को देशका राजाले कब्जा गरिसकेका थिए। उनकै छोरा सत्यवानलाई देखेर सावित्रीले पतिका रूपमा स्वीकार गरिसकेकी थिइन्।
सत्यवान अल्पायु थिए। यद्यपि सत्यवान वेदका ज्ञाता थिए। नारदमुनिले सावित्रीलाई भेटेर सत्यवानसँग बिहे नगर्न सल्लाहसमेत दिए। पतिको मरण दिन नजिकिँदै आएपछि सावित्री घोर तपस्या गर्न थालिन्। तपस्याको तथा सतीत्वको शक्तिबाट आफ्नो पतिलाई रक्षा गर्न सफल भइन्। सावित्रीकै कारण यो पर्वलाई आदर्श नारीत्वको प्रतीकका रूपमा स्वीकार गरियो। वरसाइत पर्वमा सत्यवान सावित्रीका साथै यमराजको पनि पूजा गरिन्छ। सावित्रीले यही व्रतका प्रभावले धर्मराजलाई जितेर पति पाएकी थिइन्। जसले गर्दा मिथिलाञ्चलमा यसको अति महत्वका साथ वट सावित्रीको पूजा–आराधना गर्दै ‘वर’ वृक्षको पूजापाठ विधिपूर्वक गर्ने चलन छ।
प्रकाशित: १३ जेष्ठ २०८२ ०९:०७ मंगलबार





