१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

बनेपामा एक सय २३ वर्ष पुरानो ‘कन्या-पूजा’

प्राचीन एवं ऐतिहासिक महत्त्व बोकेको बनेपामा एक सय २३ वर्षअघि ‘कन्या-पूजा’ (रजस्वला नभएका दश वर्षमुनिका कन्यालाई) हुँदै आएको छ। उक्त परम्परालाई यस वर्ष पनि निरन्तरता दिन थालिएको छ।

यस कार्यमा विसं १९५९ देखि बर्सेनि बनेपाली जुट्दै छन्। बनेपाको पुरानो बजारमा वर्षैपिच्छे सप्तमी र कृष्ण जन्माष्टमी दुई दिन पूजा गरिन्छ। सप्तमी अर्थात् बिहीबार नेवाः कन्या-पूजाको नाममा टिकट दिएर बनेपा नगरपालिका-८ दक्षुटोलमा कन्या-पूजा आयोजना गरिएकाे छ।

कृष्ण जन्माष्टमीको दुई दिनअघि गरिने उक्त पूजामा भने बर्सेनि करिब दुई हजारदेखि दुई हजार पाँच सय कन्या सहभागी हुन्छन्। सनातन कन्या- पूजा प्रबन्ध समिति मार्फत कन्यापुजा हुँदै आएको छ।

नेपालको काभ्रेपलाञ्चोकबाहेक अन्य स्थानमा यस्तो पूजा गरिँदैन। यस वर्ष कृष्ण जन्माष्टमीका दिन शनिबार कन्या-पूजा गरिने तयारी सकिएको समितिले जनाएको छ। रजस्वला नभएका तथा ‘बेलविवाह’ नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता छ।

उक्त पूजामा सहभागी हुने करिब आठ हजार कन्याका लागि ३२ हजार स्वारीसहितका सामग्री तयार गरिएको समितिले जनाएको छ। समितिका सचिव प्रकाश कायस्थका अनुसार कन्या पुज्न आवश्यक सामग्री तथा पुज्ने व्यक्ति तय भइसकेका छन्। बनेपामा आसपासका ‘सात गाउँ’ का कन्यालाई पूजा गरिँदै आइएको छ। यो परम्परा व्यवस्थित गर्न समिति गठन गरिएको छ।

कृष्ण जन्माष्टमीको दिनमा गरिने कन्या–पूजामा काभ्रेपलाञ्चोक लगायत तथा छिमेकका जिल्लाबाट बर्सेनि करिब आठदेखि दश हजार कन्या सहभागी हुन्छन्। बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबाँया पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन्। जनविश्वासका कारण पनि कन्या पुज्नेको भीड हुने गर्दछ। त्यस दिन कन्या पुज्न काठमाडौं, भक्तपुर, ललितपुर तथा छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेका छन्।

कन्या-पूजामा समिति मार्फत एक सय ३५ भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारकाे मिठाई वितरण गर्दछन्। पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टिका लगाइदिने प्रचलन पनि छ।

बनेपामा हुने कन्या–पूजामाप्रति कन्या पाँच सय रूपैयाँ बराबरका सामग्री उपलब्ध गराइन्छ। पाेहाेर पनि करिब आठ हजार कन्याका लागि तीन करोड रूपैयाँभन्दा धेरै खर्च भएको समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले बताए। 

प्रकाशित: ३० श्रावण २०८२ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App