चालु आर्थिक वर्ष २०८२ को चैत मसान्तसम्म सानिमा बैंक लिमिटेडले आफ्नो वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार गरेको छ । बैकद्वारा सार्वजनिक गरिएको विवरणअनुसार बैंकको खुद नाफा, कर्जा प्रवाह तथा प्रतिफल सूचकहरूमा सशक्त वृद्धि देखिएको छ ।
बैंकको खुद कर्जा तथा सापटी ८.२५ प्रतिशतले बढेर एक खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा बैंकको करपछिको नाफा (Profit After Tax) ४२.२ प्रतिशतले वृद्धि भई दुई अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । यो वृद्धि अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय सुधार हो।
बैंकले पूँजी पर्याप्तता सूचकमा पनि सुदृढ स्थिति कायम गरेको जनाएको छ । टियर–१ क्यापिटल एडिक्वेसी रेसियो १०.०३ प्रतिशत र कुल क्यापिटल एडिक्वेसी रेसियो १३.१६ प्रतिशत रहेको छ। साथै, बैंकले सो अवधिमा ८.२५ प्रतिशत दरका स्थायी (पर्पेचुअल) नन–क्युमुलेटिभ प्रिफरेन्स सेयरमार्फत दुई अर्ब रुपैयाँ संकलन गरेको छ ।
प्रतिफल सूचकतर्फ बैंकको इक्विटीमा प्रतिफल (Return on Equity) १३.१३ प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिमा १०.३५ प्रतिशत थियो । यस्तै प्रति सेयर आम्दानी २२ रुपैयाँ ९२ पैसा पुगेको छ । यो गत वर्षको १६ रुपैयाँ ३३ पैसाबाट उल्लेखनीय वृद्धि हो ।
बैंकका अनुसार वार्षिक वितरणयोग्य नाफा १८.५७ प्रतिशत कायम छ । यसले आगामी लाभांश वितरण क्षमतालाई सकारात्मक संकेत गरेको छ ।
प्रकाशित: ११ वैशाख २०८३ ०८:३४ शुक्रबार





