१७ भाद्र २०८३ बुधबार
image/svg+xml
कर्पोरेट

प्रभु बैंकद्वारा बाढीपीडितका लागि दुई करोड ११ लाख रुपैयाँ सहयोग

प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारलाई २ करोड ११ लाख ११ हजार १०१ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

वि.सं. २०८३ भदौ १० गते बिहान रसुवाको जिल्लामा पर्ने भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी किनारमा रहेका बस्तीमा ठूलो जनधनको क्षति भएको थियो। विपद्बाट प्रभावित तथा पीडित परिवारका लागि राहत, उद्धार, खोजतलास र पुनःस्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको हो।

भदौ १६ गते अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १०१ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष किशोर जंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिकेश्वर शर्मा लामिछाने लगायतको उपस्थिति थियो।

प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति प्रभु बैंक परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, सम्पर्कविहीन तथा घाइतेहरूको उद्धार र शीघ्र उपचारका लागि आवश्यक पहल गर्न तथा प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

प्रकाशित: १७ भाद्र २०८३ १८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App