१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
कर्पोरेट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा चार करोड एक लाख सहयोग

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड एक लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय र भौतिक क्षति हुनुका साथै नागरिकको दैनिक जीवन प्रभावित भएको अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको बैंकले जनाएको छ।

बैंकका अनुसार विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि सरकार तथा सम्बन्धित निकायले सञ्चालन गर्ने अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा रकम जम्मा गरिएको हो।

बैंकले विपद्बाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार र घाइतेको उपचारमा आवश्यक सहयोग पुग्ने अपेक्षा बैंकले गरेको विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित: १६ भाद्र २०८३ १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App