१२ आश्विन २०८३ सोमबार
image/svg+xml
कर्पोरेट

ई-सेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त हुनुभएको छ। गत भदौ ३० गते बसेको ई-सेवा सञ्चालक समितिको बैठकले असोज १२ गतेदेखि लागू हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। शर्माले आगामी चार वर्षको सेवाकाल आजको मितिदेखि सम्हालेका छन्।  

बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव हासिल गर्नुभएका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा अनुभवी हुनुहुन्छ। डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि तथा ग्राहकमुखी नवप्रवर्तन विकासका क्षेत्रमा उत्कृष्ट क्षमता प्रदर्शन गरेका शर्मासँग टोलीको नेतृत्व तथा संस्थागत रूपान्तरणलाई प्रभावकारी रूपमा अघि बढाउने उल्लेखनीय अनुभव रहेको छ।

बैंकिङ तथा डिजिटल वित्तीय सेवाको क्षेत्रमा लामो अनुभव हासिल गरेका शर्माको नेतृत्वले ईसेवाको आगामी यात्रालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। ईसेवा सञ्चालक समितिले शर्माको अनुभव, नेतृत्व क्षमता तथा डिजिटल वित्तीय सेवासम्बन्धी विज्ञताले कम्पनीको आगामी रणनीतिक प्राथमिकतालाई प्रभावकारी रूपमा अघि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

ईसेवाले विगतदेखि हासिल गर्दै आएको उपलब्धिलाई निरन्तरता दिँदै बदलिँदो ग्राहक आवश्यकता र डिजिटल वित्तीय सेवाको विकाससँगै कम्पनीलाई थप सुदृढ बनाउन शर्माको नेतृत्व महत्त्वपूर्ण हुने विश्वास ईसेवा सञ्चालक समितिले लिएको छ।

निवर्तमान सीईओ जगदीश खड्काको सफल कार्यकाल पूरा

ईसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ। वि.सं. २०७९ असोज १२ गते ईसेवाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएका खड्काले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेका हुन्।

खड्काको व्यवस्थापकीय नेतृत्वमा ईसेवाले आफ्नो सेवा, पहुँच तथा डिजिटल वित्तीय सेवाको दायरालाई उल्लेख्य रूपमा विस्तार गरेको छ। उनको कार्यकालमा ईसेवाका प्रयोगकर्ता, मर्चेन्ट तथा आधिकारिक प्रतिनिधिहरूको संख्यामा उल्लेख्य वृद्धि हुनाका साथै नयाँ प्रडक्ट तथा फिचरहरूको निर्माण, नवप्रवर्तन तथा डिजिटल सेवाको विस्तारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन्। उनको कार्यकालमा ईसेवामा दर्ता हुने प्रयोगकर्ताको संख्या १ करोड ४० लाख र मर्चेन्टको संख्या ६ लाख नाघेको छ।

आफ्नो कार्यकालमा उनले ईसेवालाई थप समावेशी, अत्याधुनिक र प्रयोगकर्तामैत्री बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। डिजिटल कर्जा सुविधा, फाइनान्स ३६०, ईसेवा सर्कल, बिजनेस लिंक, बिजनेस एप, इन्टेन्ट पे, क्यालेन्डर तथा इभेन्ट सेवा, इन्स्योरेन्स प्रडक्ट र विविध लाइफस्टाइल फिचरहरूको विस्तारमार्फत डिजिटल भुक्तानी र वित्तीय व्यवस्थापनलाई सहज, सुरक्षित र बहुआयामिक बनाउन उनले सफल नेतृत्व प्रदान गरे।

साथै, उनको नेतृत्वमा दृष्टिविहीन नागरिकका लागि ‘टकब्याक’ फिचर तथा सर्वसाधारणको सहजताका लागि नेपाली भाषामा एप सञ्चालन गरी वित्तीय सेवालाई पहुँचयोग्य बनाइएको छ। ईसेवा व्यवस्थापनको नेतृत्वमा रहेर खड्काले कम्पनीको व्यावसायिक वृद्धि, डिजिटल वित्तीय सेवाको विस्तार, समावेशी वित्तीय पहुँच तथा ग्राहकमुखी नवप्रवर्तनमा महत्वपूर्ण भूमिका खेलेका छन्।  

उनको नेतृत्वमा ईसेवाले आफ्नो ब्रान्ड प्रतिबद्धता “सबै, सधैं, सँगै” लाई आत्मसात् गर्दै डिजिटल सेवाको पहुँच विस्तार, नवीन प्रडक्ट तथा सेवाको विकास र समावेशी डिजिटल वित्तीय अनुभव निर्माणमा निरन्तर काम गर्दै आएको छ। उनको कार्यकालमा हासिल भएका उपलब्धिहरूले ईसेवाको आगामी यात्राका लागि थप बलियो आधार तयार गरेको कम्पनीले जनाएको छ।

ईसेवा परिवार उनको सुखद्, सुस्वास्थ्य एवं आगामी व्यावसायिक तथा व्यक्तिगत जीवनको उत्तरोत्तर सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछ।

प्रकाशित: १२ आश्विन २०८३ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App