मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरले पदभार ग्रहण गरेका छन्। बैंक सञ्चालक समितिको निर्णयअनुसार उनले शुक्रबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका मानन्धरले विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा काम गरिसकेका छन्। पछिल्लो समय उनी डिस मिडिया नेटवर्क लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।
बैंकले मानन्धरको नेतृत्वमा संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य, उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीहरूको मनोबल तथा सरोकारवालाहरूले राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मुक्तिनाथ विकास बैंक लिमिटेडले मानन्धरको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा बैंकले अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने विश्वास लिएको जनाएको छ।
प्रकाशित: १ जेष्ठ २०८३ १९:३१ शुक्रबार





