एनआइसी एसिया बैंकको स्वतन्त्र सञ्चालक पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैंठकले आगामी चार वर्षका लागि उनलाई सो पदमा नियुक्त गरेको हो।
चार्टर्ड फाइनान्सियल एनालिष्ट (सिएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सिएचई) उत्तीर्ण खतिवडाले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक निजी साझेदारी (पिपिपी) लगायतका क्षेत्रमा दुई दशकभन्दा लामो व्यावसायिक अनुभव सँगाल्नुका साथै वित्त तथा व्यवस्थापन विज्ञका रूपमा परिचित छन्।
यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, विद्युत् नियमन आयोगको सदस्य, एनआइबिएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक र कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसियल)को फाइनान्सियल एनालिष्ट तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायतका विभिन्न संस्थामा उच्च पदमा रहेर काम गरेका छन्।
प्रकाशित: २२ पुस २०८२ १०:५९ मंगलबार





