एनआईसी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियोलाई विविधीकरण गर्ने क्रममा जलविद्युत् क्षेत्रमा लगानी विस्तारलाई निरन्तरता दिएको छ। यसैक्रममा बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबीच रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा निर्माणाधीन ६.७२ मेगावाट क्षमताको फलाखु खोला जलविद्युत् आयोजनामा ९ करोड २० लाख रुपैयाँ लगानी गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
एक कार्यक्रमका बीच सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल तथा रसुवा हाइड्रोपावर लिमिटेडका अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका हुन्।
नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन नीतिलाई सहयोग पुर्याउँदै दिगो ऊर्जा विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको उक्त आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना सम्पन्न भएपछि वार्षिक करिब ३८.७४ गिगावाट घण्टा (GWh) विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ।
बैंकको नेतृत्वमा लगानी सुनिश्चित भएको यस आयोजनाले निर्माण सम्पन्नपश्चात देशमा स्वच्छ ऊर्जा उत्पादन वृद्धि गर्न, आर्थिक विकासमा टेवा पुर्याउन तथा वातावरणीय संरक्षणमा सकारात्मक योगदान दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले व्यक्त गरेको छ।
प्रकाशित: १७ जेष्ठ २०८३ १६:३७ आइतबार





