सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको हो । बैंकका अनुसार बागमती प्रदेशको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको हो ।
अर्थ मन्त्रालय, सिंहदरबारमा सोमबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरे । कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको उपस्थिति थियो ।
बैंकले बाढीमा ज्यान गुमाएकाहरूका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
यसैबीच, बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको बैंकले जनाएको छ । बैंकले तत्काल राहत पुर्याउने उद्देश्यले नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटका प्रभावितलाई चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु र चाउचाउलगायत खाद्यान्न सामग्रीसमेत सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ । साथै स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय, वृद्धाश्रम र अनाथालयलाई समेत आर्थिक सहयोग प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
प्रकाशित: २२ भाद्र २०८३ १७:५० सोमबार




-600x400.jpg)
