इनड्राइभले नेपाली नयाँ वर्षको समयमा आफ्नो अन–डिमान्ड डेलिभरी सेवा “इनड्राइभ.कुरियर्स” को माग उल्लेखनीय रूपमा बढेको जनाएको छ। विशेषगरी साना तथा मध्यम व्यवसायहरूको सक्रिय सहभागिताले यो वृद्धि सम्भव भएको कम्पनीले बताएको छ।
इनड्राइभ.कुरियर्समार्फत ग्राहक र कुरियरबीच सिधै भाडा सहमति भई छिटो र पारदर्शी रूपमा सामान पठाउन सकिन्छ। औसतमा ५–६ मिनेटमै पिकअप र ४० सेकेन्डभित्र अर्डर मिलान हुने सेवा प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। औसत डेलिभरी दूरी करिब ६ किलोमिटर रहेको छ।
कम्पनीका अनुसार सन् २०२५ को नयाँ वर्ष अवधिमा डेलिभरी अर्डर संख्या अघिल्लो वर्षको तुलनामा २००% भन्दा बढीले बढेको छ। सक्रिय व्यवसाय प्रयोगकर्ता २.६ गुणाले बढ्दा स्थानीय पसल, अनलाइन विक्रेता र घरआधारित व्यवसायहरूले सेवा व्यापक रूपमा अपनाएको देखिएको छ। यस अवधिमा कपडा, खाद्यान्न, स्पेयर पार्ट्सदेखि विभिन्न पार्सलसम्म पठाइएको थियो।
इनड्राइभ नेपालकी कन्ट्री प्रतिनिधि रिता पोखरेलले नयाँ वर्ष साना व्यवसायका लागि महत्वपूर्ण समय भएको बताउँदै छिटो र सहज डेलिभरीका लागि सेवामाथि निर्भरता बढेको उल्लेख गरिन्।
काठमाडौंमा सबैभन्दा बढी अर्डर देखिएको छ भने पोखरा र भरतपुरमा पनि विस्तार भइरहेको कम्पनीले जनाएको छ।
इनड्राइभ.कुरियर्सले लचिलो मूल्य प्रणालीमार्फत ग्राहक र कुरियरबीच सहमति कायम गर्दै साना व्यवसायका लागि भरपर्दो डेलिभरी समाधानको रूपमा आफ्नो स्थान बलियो बनाउँदै लगेको छ।
प्रकाशित: २७ चैत्र २०८२ २०:०१ शुक्रबार




-600x400.jpg)