१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ३:४४ पूर्वाह्न
बजार

नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ हकुईमा आल्मुनियम रड उत्पादन उद्योग सञ्चालनमा आएको छ । लिट्मस इन्डस्ट्रिज लिमिटेडले एक कार्यक्रम आयोजना गरी नेपालमा पहिलो पटक आल्मुनियम रड उत्पादनको औपचारिक सुरुवात गरेको हो । 

कार्यक्रमलाई उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वादेशी उत्पादनको प्रयोग बढाउन नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिँदै यसका लागि तीनै तहको सरकार योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताए । उद्योगलाई प्रभावकारी रूपमा सञ्चालन गरेमा स्थानीयस्तरमा रोजगारीका अवसर सृजना हुनुका साथै आर्थिक समृद्धि हासिल गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे ।  

तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक पर्ने बताउँदै राउतले यसका लागि रचनात्मक र सृजनात्मक कार्यक्रममार्फत अगाडि बढ्नुपर्नेमा जोड दिए । स्वादेशी उत्पदानको क्षमता बढाउन विभिन्न नीतिलाई अगाडि सारिएको जनाउँदै उनले यो उद्योगले नेपाली बजारमा हुने आल्मुनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर र समुन्नत बनाउने विश्वास व्यक्त गरे ।  

हाल नेपालमा तार, केबललगायत निर्माणमा प्रयोग हुने आल्मुनियम रड आयातमार्फत आपूर्ति हुँदै आएको उद्योगका प्रबन्ध निर्देशक रोहित गुप्ताले बताए । उनका अनुसार चार अर्बमा सञ्चालित यस उद्योगले आल्मुनियम रडको आयात परनिर्भरतालाई घटाउनुका साथै देशभित्र उच्च गुणस्तरीय रड निर्माण हुनेछ ।

देशभित्र आल्मुनियम रडको खपत क्षमता आठ हजार टन रहेको बताउँदै गुप्ताले यस उद्योलगे २० हजार टन उत्पदान गर्ने लक्ष्य लिएको जानकारी दिए । नेपालसहित भारत र तेस्रो मुलुकसम्म रड निर्यात गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए । 

प्रकाशित: १४ चैत्र २०८१ १४:३० बिहीबार

खुशी 100 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App