१ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको अवैध हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका २४ वर्षीय एक युवकलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले धनुषाको शहीदनगर नगरपालिका-४ का अजयकुमार मुखियालाई १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको हो।
धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार मुखिया मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुन्डी कारोबारमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ परेका हुन्।
अनुसन्धानका क्रममा उनले व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरूको प्रयोग गरी उक्त ठूलो परिमाणको रकम कारोबार गरेको पुष्टि भएको ब्यूरोले जनाएको छ।
पक्राउ परेका मुखियामाथि हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरअन्तर्गत हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता जबराले यस नेटवर्कमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जानकारी दिए।
प्रकाशित: ३१ भाद्र २०८३ २१:५४ बुधबार





