प्रेम सम्बन्धमा उत्पन्न विवादले २१ वर्षीया युवतीको ज्यान गएको हृदयविदारक घटना बाँकेको डुडुवा गाउँपालिकामा सार्वजनिक भएको छ । करिब एक महिनाअघि हत्या गरी इनारमा फालिएको अवस्थामा फेला परेको बेवारिसे शवको पहिचानपछि प्रहरीले हत्यामा संलग्न युवकलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार माघ १ गते बिहान डुडुवा गाउँपालिका–३ बनकट्टी गाउँमा रहेको एक इनारमा शव देखिएको भन्ने सूचना प्राप्त भएको थियो । सूचनापछि खटिएको प्रहरी टोलीले राम फेरन कुर्मीको घर पछाडि वर्षौंदेखि प्रयोगमा नरहेको इनारभित्र अत्यधिक सडिगली अवस्थामा रहेको अज्ञात शव फेला पारेको थियो । सशस्त्र प्रहरी बलको सहयोगमा शव इनारबाट निकालेर पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको थियो ।
शव सडिसकेको कारण सुरुमा मृतकको पहिचान गर्न कठिन भए पनि प्रहरीले प्रविधि, कपडा र गरगहनाको आधारमा अनुसन्धान अघि बढाएको थियो । स्थानीय बासिन्दासँग बुझ्दा शव डुडुवा गाउँपालिका–३ पाँचगोडिया टोलकी २१ वर्षीया बसन्ती गोडियाको भएको पुष्टि भएको हो । परिवारजनलाई कपडा र गहना देखाएर सनाखत गराइएको प्रहरीले जनाएको छ ।
पोष्टमार्टम प्रतिवेदनअनुसार मृतकको टाउको र घाँटीमा धारिलो हतियारबाट गम्भीर चोट लागेको देखिएको छ, जसले हत्या कर्तव्य गरी गरिएको पुष्टि गरेको छ । अनुसन्धानका क्रममा बसन्ती छिमेककै युवकसँग प्रेम सम्बन्धमा रहेको र सोही सम्बन्धमा खटपट भएपछि योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको अभियोगमा डुडुवा गाउँपालिका–३ बनकट्टी निवासी २५ वर्षीय राकेश बर्मालाई पक्राउ गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसूरमा उनीविरुद्ध अनुसन्धान भइरहेको र अदालतबाट म्याद थप गरी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार घटनाले समाजमा प्रेम सम्बन्धका नाममा हुने हिंसाप्रति गम्भीर प्रश्न उठाएको छ ।
प्रकाशित: १५ माघ २०८२ १७:०९ बिहीबार





