उदयपुरका दुईजना युवाहरुलाई ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित विराटनगरबाट पक्राउ गरिएको छ।
मोरङको विराटनगरस्थित रेल्वेलाइनमा रहेको अस्थायी प्रहरी चौकीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।
प्रदेश प्रहरीका प्रवक्ता, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक पोखरेलले सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका-७ का १९ वर्षीय दीपक मगर र अटोचालक त्रियुगा नगरपालिका-१० का ३३ वर्षीय फिरोज मोहम्मद रहेका छन्।
प्रदेश १–०५–००१ ह ०१४७ नम्बरको अटोमा सवार उनीहरुलाई चेकजाँचका क्रममा पक्राउ गरिएको हो।
मगरले बोकेको झोला खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट र डिकोलिक ३ हजार ९ सय ९० ट्याब्लेट बरामद भएको थियो।
अटोमा सवार यात्रुको साथबाट लागूऔषध बरामद भएपछि यात्रु र चालक दुवैलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको एसएसपी पोखरेलले बताएका छन्।
यसैबीच, मोरङका अन्य स्थानबाट पनि प्रहरीले लागूऔषध बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रानी, विराटनगरले विराटनगर महानगरपालिका-१६ बाट ५६ मिलिग्राम ब्राउनसुगरसहित विराटनगर-११ की २८ वर्षीया रञ्जिता राय अमातलाई पक्राउ गरेको छ।
त्यस्तै, मोरङकै बुधनगरस्थित इलाका प्रहरी कार्यालयको टोलीले विराटनगर-१८ मा प्रदेश १–०२–००४ ह ८२७० नम्बरको सिटी सफारीमा बेवारिसे अवस्थामा राखिएको ३० किलो गाँजा बरामद गरेको छ।
सिटी सफारीका चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ आश्विन २०८२ १९:२२ मंगलबार





