मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित बक्रा खोला बगरबाट प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली प्रहार गर्दा एक जना घाइते भएका छन्।
बिहीबार दिउँसो साढे १ बजेको समयमा लुकाइछिपाई राखिएको अवस्थामा ८ वटा सेतो बोरामा रहेको २६४ किलो ५९० ग्राम गाँजा बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको थियो।
सोही स्थानमा पुनः लागुऔषधको कारोबार हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै इलाका प्रहरी कार्यालय सिजुवाको गस्ती टोलीले पौने १० बजे राति केही व्यक्तिहरू गाँजा लिएर भारततर्फ जाँदै गरेको अवस्थामा फेला पारेको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
उनका अनुसार नियन्त्रणमा लिन खोज्दा भारततर्फ भाग्न खोजेपछि सुरुमा १ राउन्ड हवाई फायर गरिएको र त्यसपछि पनि नियन्त्रणमा नआएपछि चलाइएको १ राउन्ड गोली लागेर भारतको अररिया जिल्ला जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन्।
उनको घुँडामुनि पिँडुलामा गोली लागेको डिएसपी मिश्रले बताए। उनको अवस्था सामान्य रहेको पनि अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले चौधरीका साथै भारतकै अररिया जिल्ला महगामा ग्राम पञ्चायत थाना–४ का ५० वर्षीय राजेन्द्रप्रसाद यादवलाई थप १०० केजी गाँजासहित पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: ३० आश्विन २०८३ १२:१२ शुक्रबार





