सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषध नाइट्राजेपामसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
साउन ८ गते बेलुका लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–३ स्थित क्षेत्रबाट दुई जनालाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गरेको थियो। सो क्रममा प्रहरीले उनीहरूबाट नाइट्राजेपाम ब्रान्डको २४३ ट्याब्लेट फेला पारेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमा सुर्खेत वीरेन्द्रनगर–३ बस्ने २९ वर्षीय कमल कार्की र दैलेख दुल्लु नगरपालिका–६ स्थायी घर भई हाल सुर्खेत वीरेन्द्रनगर–३ मा बस्ने २१ वर्षीय ध्वनिल मल्ल छन्।
हाल उनीहरूलाई लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाले जानकारी गराए।
प्रकाशित: ९ श्रावण २०८२ १७:१२ शुक्रबार