अलग-अलग जिल्लामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
ललितपुरमा १४ वर्षीया र मोरङमा १३ वर्षीया बालिकामाथि यौनजन्य हिंसा गरेको आरोपमा ५० वर्षभन्दा बढी उमेरका दुई पुरुषलाई नियन्त्रणमा लिइएको हो।
ललितपुरको घटनामा प्रहरीले भारत मोतिहारी घर भई हाल ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने ५४ वर्षीय रमेश साहलाई पक्राउ गरेको छ।
साहले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई शुक्रबार दिउँसो नियन्त्रणमा लिएको हो।
प्रहरी प्रभाग सानेपाबाट खटिएको विशेष टोलीले उजुरीका आधारमा साहलाई पक्राउ गरी थप कानुनी प्रक्रिया अघि बढाएको छ।
घटनाको विषयमा प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान भइरहेको जनाएको छ।
यसैगरी, मोरङको लेटाङ नगरपालिका–९ मा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५५ वर्षीय रामबहादुर तामाङ पक्राउ परेका छन्।
तामाङलाई शनिबार दिउँसो इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पीडित बालिकाको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको हो। दुवै घटनाका आरोपितहरूमाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाएका छन्।
प्रकाशित: १६ जेष्ठ २०८३ १९:१४ शनिबार





