भारतका कुख्यात सुन तस्करलाई बारा जिल्ला अदालतले धरौटीमा छोडन आदेश दिएको छ । २५ किलोभन्दा बढी भन्सार छलीको सुन बरामदमा मुख्य कारोबारी रहेका भारत बिहारका अशोककुमार सिन्हा र नेपाली नागरिक उनकी छोरी निवेदीका सिन्हालाई बारा जिल्ला अदालतले धरौटीमा छोडने आदेश दिएको हो।
६ महिनाभन्दा बढी कैद सजाय हुने मुद्दामा विदेशी नागरिकलाई धरौटीमा छोडन नहुने व्यवस्था मुलकी फौजदारी कार्यविधि संहिताले गरे पनि सिन्हामा यो लागु नभएको देखिएको हो।
२०७७ सालको कार्तिक ३ गते पर्सा जिल्लाका तत्कालिन प्रहरी प्रमुख गंगा पन्त नेतृत्वको टोलीले वीरगन्ज महानगरपालिका ५ रेशमकोटीमा रहेको गणेश अपार्टमेन्टबाट छापामारी गरेर २५ किलो तीन सय ८३ ग्राम सुन बरामद गरेको थियो।
भन्सार छली गरेर ल्याइएको ठुलो परिमाणको सुन भेटिएको गणेश अपार्टमेन्टको तेस्रो तलाको ३०३ फ्ल्याट निवेदीकाको रहेको र सुन उनको बुवा अशोककुमार सिन्हाको रहेको प्रतिवेदनसहित राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा थप कारबाहीको लागि पर्सा प्रहरीले बुझाएको थियो।
पर्सा प्रहरीले भन्सार छलीको सुन बरामद गरेर बुझाए पछि राजश्व अनुसन्धान कार्यालय पथलैया बाराले राजश्व छली र राजश्व अनुसन्धान विभाग ललितपुरले सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा दायर गरेको थियो।
बारा जिल्ला अदालतका स्रेस्तेदार राजकुमार दाहालले इजलास नम्बर–१ का न्यायाधीश भोला ढकालको आदेशमा भारतीय नागरिक सिन्हासँग राजश्व चुहावट १५ लाख र उनका छोरी निवेदीका सिन्हासँग पनि १५ लाख धरौटी माग गरी तारेखमा छोडने आदेश भएको बताएका छन्।
२५ किलो ३८३ ग्राम सुन बरामद मुद्दामा राजश्व अनुसन्धान कार्यालय पथलैया बाराले १८ करोड ६५ लाख बिगो बराबर जरिवाना र कैद सजायको माग गर्दै २०७८ जेठ १३ गते अदालतमा दुबै जनामाथि मुद्दा दायर गरिएको उनले बताए।
अशोक कुमार सिन्हासँग अर्को सम्पत्ति शुद्धीकरण मुद्दामा पनि १५ लाख र निजकी छोरीलाई १० लाख धरौटी तारिखमा छोडने आदेश भएको दाहालले बताए।
अदालतमा उपस्थित भएर गरेको बयानमा बाबुछोरीले बरामद सुन आफ्नो नभएको दाबी गरेको र अशोक सिन्हा ६५ वर्षभन्दा बढी उमेरको ज्येष्ठ नागरिक बिरामी पनि भएकाले उनलाई नियमित उपचारमा राख्नुपर्ने भएकाले धरौटीमा छोडिएको न्यायाधीश ढकालको आदेशमा उल्लेख गरिएको श्रेस्तेदार दाहालले बताए।
भन्सार छली तथा चोरी पैठारी सम्बन्धी कसुर गरि अपराध जन्य कार्य गरि अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरणमा कुल बिगो ३४ करोड २४ लाख ३१ हजार कायम गरि सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४को दफा ३० को उपदफा १ बमोजिम बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद माग दाबी सहित राजश्व अनुसन्धान बिभाग ललितपुरले अदालतमा मुद्दा दायर गरेको दाहालले बताए।
राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा र राजश्व अनुसन्धान विभाग ललितपुरले दायर गरेको राजश्व चुहावट र सम्पत्ति शुद्धीकरण मुद्दामा अशोक कुमार सिन्हालाई तीन बर्ष भन्दा बढि कैद हुन सकिने व्यवस्था रहेको कानुन व्यवसायीहरु बताउँछन्।
निवेदकसँग नेपाली नागरिकता, उनका बुवा अशोकसँग भारतीय आधार कार्ड रहेको र उनीहरुको जग्गा जमिन, बैंक रकम सबै रोक्का भएकाले उनीहरू भाग्न नसक्ने आधार देखिएकोले धरौटी तारिखमा छोडने आदेश भएको उनले बताए।
प्रकाशित: १० आश्विन २०८२ १९:३० शुक्रबार





