११ चैत्र २०८२ बुधबार
image/svg+xml
अपराध

एकै रात तीन घरमा चोरी

सांकेतिक तस्बिर

बाँकेको जानकी गाउँपालिका–१ शिवपुरामा बुधबार बिहान एकारातमा तीन घरमा चोरी भएको छ । बिहान करिब दुई बजेदेखि तीन बजेसम्मको समयमा अज्ञात समूहले योजनाबद्धरूपमा तीन घरमा चोरी गरी झन्डै ६ लाख रुपैयाँ बराबरको नगद, सुनचाँदीका गहना र अन्य सामान चोरी गरेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाले बिहान सबेरै घटनाबारे प्रहरीलाई जानकारी दिएपछि ईलाका प्रहरी कार्यालय खजुराबाट टोली घटनास्थल पुगेको थियो । टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गर्दा सरिफ कबडिया, सर्जुप्रसाद कांधु र नन्कउ कांधुका घरमा एकै रात चोरी भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।  

जानकी–१ शिवपुराका ३९ वर्षीय सरिफ कबडियाको घरमा कोही नबसेको समयमा चोरले ताला फोडेर प्रवेश गरेका थिए । उनको घरबाट पायल तीन जोडी, सुनको नथिया र फुली, तीन जोर सुट कपडा, तसला र लोटा, तथा करिब ४० हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ । ती सबै वस्तुको मूल्य करिब एक लाख चौवन्न हजार पाँच सय रुपैयाँ रहेको छ ।

त्यसै गाउँका ५६ वर्षीय सर्जुप्रसाद कांधुको घरबाट पनि चोरले गरगहना, मोबाइल फोन र नगद गरी करिब चार लाख रुपैयाँ बराबरका सामान चोरी गरेका छन् ।  

उनको घरबाट तिलहरी दुई पिस, पायल र कन्दन दुई–दुई जोडी, मोबाइल एक सेट, टर्च एक थान र नगद ३५ हजार रुपैयाँ चोरी भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ । त्यस्तै, ४२ वर्षीय नन्कउ कांधुको घरबाट चाँदीका पायल दुई जोडी, मोबाइल दुई सेट र टर्च चोरी भएको छ । चोरी भएका वस्तुको कुल मूल्य करिब ४५ हजार पाँच सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार चोरीको सूचना प्राप्त भएपछि प्रहरी टोली बिहान करिब साढे तीन बजे घटनास्थल पुगेको थियो । घटनास्थल कार्यालयबाट करिब तीन दशमलव पाँच किलोमिटर पश्चिममा पर्छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी प्रमाण संकलनको कार्य अघि बढाएको छ । प्रवक्ता पातलीले भने, ‘तीनवटा घरमा एकै रात चोरी हुनु योजनाबद्ध गतिविधि हो भन्ने देखिन्छ । सम्भवतः एउटै समूहले गाउँमा निगरानी गरी अवसर मिलाएर घटना घटाएको हुन सक्छ ।’  

उनका अनुसार चोरको खोजीका लागि आसपासका गाउँ र सीमा क्षेत्रहरूमा पनि प्रहरीको गस्ती बढाइएको छ । घटनापछि गाउँमा त्रास फैलिएको छ । स्थानीय बासिन्दाले राति कुकुरहरू असामान्यरूपमा भुकिरहेको र केही अपरिचित व्यक्तिहरू गाउँ वरिपरि हिँडिरहेका देखिएको बताएका छन् ।  

बिहान उठ्दा तीन घरका ढोका र ताला फुटेका देखिएपछि गाउँभर हल्ला फैलिएको थियो । प्रहरीले चोरीमा संलग्न व्यक्ति वा समूहको पहिचानका लागि सीसीटीभी फुटेज संकलन, सूचना सञ्जाल र गोप्य निगरानी कार्य सुरू गरेको जनाएको छ ।  

यसबीचमा गाउँमा प्रहरीको उपस्थिति बढाइएको र रातिको गस्ती पनि कडा पारिएको छ । प्रहरीले दोषीलाई छिट्टै पक्राउ गरी कानूनी कारबाहीमा ल्याउने प्रतिबद्धता जनाएको छ ।  

 

प्रकाशित: १२ कार्तिक २०८२ २०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App