सर्लाही सदरमुकाम मलंगवामा आइतबार साँझ एक जना सब-इन्जिनियरको गोली हानी हत्या घटनामा संलग्नबारे प्रहरी अझै सुराकविहीन छ।
यसबिच हत्याको विरोध गर्दै सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा बन्द गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार गोली प्रहार गर्ने पत्ता लगाउन सिसी क्यामेरामा कैद तस्बिरलगायतको पड्ताल भइरहेको छ। उनले छिट्टै संलग्नलाई कानुनी दायरामा ल्याउने पनि स्पष्ट पारेका छन्।
सिरहाको सुखीपुर नगरपालिका ६ बैशखागाउँ निवासी ३६ वर्षीय प्रमोदकुमार यादव सर्लाही जिल्ला मलंगवा नगरपालिका-१० देवीटोल स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका थिए। आइतबार साँझ उनलाई मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले घर बाहिर बोलाएर गोली प्रहार गरेका थिए। यादवको देब्रे छातीमा गोली लागेको थियो।
उनी मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर पदमा कार्यरत थिए।
गोली प्रहारबाट गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, अस्पताल पुर्याए लगत्तै (८:३० बजे) चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी राईले जानकारी दिए।
घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट दुई किलोमिटर उत्तर छ। रातिदेखि नै सर्लाही प्रहरीले दोषीको खोजी कार्यलाई तीव्र पारेको जनाएको छ। सदरमुकाम मलंगवाका विभिन्न नाकाहरूमा सुरक्षा जाँच कडा पारिएको छ भने शंकास्पद क्षेत्रहरूमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
‘सब-इन्जिनियर यादवमाथि किन र कसले गोली प्रहार गर्यो भन्ने विषयमा सुक्ष्म अनुसन्धान भइरहेको छ,’ डिएसपी राईले भने, ‘अहिले हामीले विभिन्न कोणबाट अनुसन्धानलाई सुक्ष्म रुपमा हेरिरहेका छौं।’
यता, मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ताले आफ्नो मातहत कार्यालयका राष्ट्रसेवकको हत्यामा संलग्नको खोजी तथा अनुसन्धानमा सक्रियता बढाउन मधेस प्रदेश प्रमुख (डिआइजी) गोविन्द थपलियालाई निर्देशन दिएको बताएका छन्।
मन्त्री गुप्ताले भने, ‘यो घटना अत्यन्त दुःखद हो। निर्वाचनको संघारमा मजबुत पारिएको भनिएको सुरक्षा व्यवस्थाबिच भएको यस घटनाले स्थानीयमा त्रास पैदा गरेको छ। सुरक्षा संयन्त्रलाई चुस्त पार्न प्रदेश प्रमुखलाई निर्देशन दिएको छु,’ उनले भने।
मृतक यादवको गाउँ रहेको सिरहा क्षेत्र नम्बर २ का उम्मेदवार शिवशंकर यादवले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई तत्काल पत्ता लगाई कानुनी दायरामा ल्याएर पीडित परिवारलाई राहत दिन माग गरेका छन्।
प्रकाशित: ४ फाल्गुन २०८२ १३:३१ सोमबार





