१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
अपराध

आमाको ह’त्या गरेका शाही १६ वर्ष पछि पक्राउ

भारतमै पुगेर प्रहरीले लियो नियन्त्रण

आमाको हत्या गरेर फरार रहेका एक जना १६ वर्षपछि पक्राउ परेका छन्। कैलाली बर्दगोरिया गाउँपालिका वडा नं १ का ५८ वर्षीय प्रेमबहादुर शाही १६ वर्षपछि पक्राउ परेका हुन्।

कैलालीको साबिक दोधारा गाउँ विकास समिति ७  हाल बर्दगोरिया वडा १ का शाहीले २०६७ पुस २८ गते शाहीले घरायसी विवादका क्रममा ६५ वर्षिया आमा सुनरुपा शाहीको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेका थिए।

त्यति बेला शाही ४२ वर्षका थिए। छोराको ढुंगा प्रहारबाट गम्भीर घाइते भएकी सुनरुपाको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका क्रममा पुस २९ गते मृत्यु भएको थियो।

ढुंगा प्रहारबाट गम्भीर घाइते भएकी आमाको मृत्यु भएपछि उनी फरार भएका थिए। उनी केही दिन नेपालमै लुकेर बसेका पछि भारत तर्फ गएका थिए।

शाहीकी श्रीमती जमुनाले नै सासूको हत्या गरेको भन्दै श्रीमानको विरुद्ध उजुरी दिएकी थिइन्। फरार रहेका शाहीलाई १६ वर्षसम्म प्रहरीले पक्राउ गर्न सकेको थिएन।

भारतमा लुकेर बसेका शाही पटक पटक सुटुक्क घरमा आउने गरे पनि प्रहरीले उनलाई समात्न भने सकेको थिएन।

उनका तीन छोरी र एक छोरा छन्। प्रहरीले एउटा गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ।

यसरी पक्राउ गरियो शाहीलाई

शाही आमाको हत्यापछि फरार भएर भारतको दिल्ली पुगे। पछि उत्तर प्रदेशको मरेठमा जडीबुटीको व्यापार गर्न थाले । हिमाञ्चल प्रदेशबाट जडीबुटी ल्याएर मरेठमा उनी व्यापार गर्ने गरेका थिए।

हिमाञ्चलबाट जडीबुटी संकलन गरेर ल्याएर गाउँ–गाउँ पुगेर बिक्री गर्दै आएका खुलेको छ। जडीबुटीको व्यवसाय गरेर उनी जीवन चलाइरहेका थिए।

प्रहरीले १६ वर्षदेखि फरार शाही मरेठमा जडीबुटी व्यापार सञ्चालन गरिरहेको सूचना पायो। कानुनी प्रावधान अनुसार नेपालको प्रहरीले भारतमा आफै गएर पक्राउ गर्न मिल्दैन।

सिभिल पोशाकमा गएको प्रहरीको टोलीले मरेठबाट उनलाई पक्राउ गरेर नेपाल ल्याएको हो।

शाहीलाई भारतीय प्रहरीको सहयोगमा उत्तर प्रदेशको मेरठबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई जडीबुटी बिक्री गरिरहेकै अवस्थामा नियन्त्रणमा लिएको प्रहरी स्रोतले बतायो।

प्रहरीले गड्डाचौकीको सीमाबाट प्रवेश गर्दा सोमबार बिहान ५ बजे पक्राउ गरेको भनेर औपचारिक रूपमा जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र कैलाली जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा गड्डाचौकीबाट पक्राउ गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए। जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर उनको अनुसन्धान भइरहेको उनले बताए।

पक्राउ परेका शाहीलाई कैलाली जिल्ला अदालतबाट पक्राउ मितिदेखि लागू हुने गरी पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखिएको छ।

शाहीले हत्या गर्ने मनसाय नभई रिसको झोकमा ढुंगा प्रहार गरेको ढुंगा टाउकोमा लागेको प्रहरीसँगको बयानमा बताए।

प्रकाशित: १८ कार्तिक २०८३ १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App