२७ वैशाख २०८३ आइतबार
image/svg+xml
अपराध

अदालतले सजाय तोकेका सात जना दोषी पक्राउ

अदालतले सजाय तोकेका सात जना दोषीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।  

चोरी, चेक अनादर, अभद्र व्यवहार र केही सार्वजनिक अपराधमा जिल्ला अदालतले दोषी ठहर गरेकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार चोरीमा मात्रै संलग्न धरान वडा नं. १५ का तेजबहादुर श्रेष्ठ, वराहक्षेत्र वडा नं. ६ का ज्ञानेन्द्र विष्ट र धरान वडा नं. १ का दिपका ऋषिदेव पक्राउ परेका छन् । यस्तै, अभद्र व्यवहारमा धरान वडा नं. १५ का  मनोज विश्वकर्मा, चेक अनादरमा इटहरी वडा नं. १८ का सविनकुमार खतिवडा, सतिषचन्द्र यादव र केही सार्वजनिक अपराध मुद्दामा बराहक्षेत्र वडा नं. १० का भरत पौडेल पक्राउ परेका हुन् ।  

प्रहरीले पक्राउ गरेकामध्ये जिल्ला अदालतले तेजबहादुर श्रेष्ठलाई कैद सजाय र जरिवाना दुवै सजाय तोकेको छ । यस्तै, सतिषचन्द्र यादवलाई पनि कैद सजाय तोकेको छ । अन्य पाँच जनालाई भने जरिवाना मात्र तोकेको छ । पक्राउ परेका सवैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतको जिम्मा लगाएको जानकारी दिइयो ।  

यसैगरी, लागूऔषध कारोबारी गर्ने समूहका तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । धरान वडा नं. ९ बाट सिन्धुपाल्चोक मेलम्ची वडा नं. ४ घर भई काठमाडौं गोकर्णेश्वर वडा नं. ६ बस्ने २० वर्षे सन्देश तामाङ्, काभे्रपलाञ्चोकको पाँचखाल वडा नं. ३ घर भई काठमाडौंकै कागेश्वरी मनोहरा वडा नं. ६ बस्ने २२ वर्षे समिर दियाली र झापा बिर्तामोड वडा नं. ६ का २८ वर्षे क्षीतिज भण्डारी पक्राउ परेका हुन् । तीनै जनालाई धरान वडा नं. ९ मा रहेको रत्न होटलमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा कोशी प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले होटलको कोठा नं. ७ बाट पक्राउ गरेको हो ।  

प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ ३६.९१ ग्राम फेला पारेको छ । प्रहरीले उनीहरुले प्रयोग गर्ने वागमती प्रदेश ०२–०२७ प ३२८९ र बागमती प्रदेश ०२–०४३ प ४८८२ नम्बरका मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २६ वैशाख २०८३ १९:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App